निर्वाचन आयोगद्वारा चुनावी खर्च तोक्ने प्रस्ताव

0
196

काठमाडौं, भदौ २९ । आसन्न प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारका लागि निर्वाचन आयोगले चुनावी खर्च १४ लाख तोक्ने प्रस्ताव ल्याएको छ ।

बुधबार प्रमुख दलका नेताहरुलाई बोलाएर आयोगले चुनाव खर्चबारे छलफल गरेको छ । एक जना मतदातासँग हुने खर्चलाई बजार मूल्यसँग समायोजन र मुद्रा स्फितिलाई मूल आधार बनाएर प्रस्तावित निर्वाचन खर्च तय गरिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले स्पष्ट पारेका छन् ।

राजनीतिक दलहरुकै सुझावको आधारमा बस्तुनिष्ट निर्वाचन खर्च निर्धारण सकिन उनले बताए । निर्वाचन क्षेत्रको भूक्षेत्र बढकोले पनि निर्वाचन खर्च केही बढाइएको उनले बताए । निर्वाचन आयोगले २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले १० खर्च गर्न पाउने व्यवस्था थियो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ अनुसार निर्वाचन आयोगले निर्वाचनमा हुने खर्चको सीमा तोक्न पाउने व्यवस्था छ । छलफलमा दलहरुले व्यवहारिक र स्वभाविक हुने गरी निर्वाचन खर्च निर्धारण गर्न सुझाव दिएका छन् ।

निर्वाचनको खर्च बढाउनुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले स्पष्ट पारे । जनसंख्या, भौगोलिक अवस्था आदिलाई पनि ध्यानमा राखेर निर्वाचनको खर्चको सीमा तोकिनुपर्ने उनको सुझाव छ । नेता रिजालले निर्वाचन खर्च निर्धारण गर्दा कार्यान्वयनको पक्षमा विशेष निगरानी राख्न पनि आयोगको ध्यानाकर्षण गराएका छन् । एमाले नेता अग्नि खरेलले निर्वाचन खर्चलाई व्यवहारिक र स्वभाविक बनाउन आयोगलाई सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here