बैङ्किङ कसुरका मुद्दा उपत्यकामा मात्रै दुई हजार ५६६ विरुद्द दायर

0
190

काठमाडौं, साउन ३१ । पछिल्लो केहि समय यता काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटना दिन प्रतिदिन वृद्धि भएको पाइएको छ । महानगरीय प्रहरी कार्यालयले बाहिर ल्याएको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको जनाइएको छ ।

जसमा काठमाडौँमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको जानकारी गराइएको छ । बैङ्किङ कसुरमा काठमाडौँमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा चल्दै आएको छ । उपत्यकामा आव २०७४÷०७५ मा ४८७ र आव २०७३÷०७४ मा १० जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको थियो ।

यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैङ्किङ कसुरमा मुद्दा चल्दै आएको छ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको जानकारी गराएका छन् । उनले पहिला सहमतिमा कारोबार गर्ने गरेको र पछि पैसा नउठेपछि प्रहरीकोमा मुद्दा हाल्ने प्रचलन बढेको सुनाए । उनले खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैङ्किङ कसुरमा मुद्दा चलाइने गरेको स्पष्ट पारेका छन् ।

केही समय अगाडि देवानी हक अन्तर्गत बैङ्किङ कसुरको मुद्दा अदालतले हेर्ने प्रावधान गरेपछि पीडितले उजुरी गर्दा थप दुःख पाएको भन्दै पुनः प्रहरीले नै बैङ्किङ कसुरको मुद्दा हेर्ने व्यवस्था मिलाइएको थियो । मुलुकभर आर्थिक वर्ष २०७५÷०७६ मा दुई हजार ६२० जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको थियो । प्रहरी प्रधान कार्यालयले आव २०७४÷०७५ मा ७७६ र आव २०७३÷०७४ मा ९३ जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here