कविता : सत्ताच्युत

0
1564

प्रिय !
थियौ तिमी जिन्दगीको सार
र म हुनुको सार्थकता
थिएन कल्पना कुनै
तिमी बिनाको संसार ।

यदि थिएनौ तिमी भने –
थिएँ म पूर्णरुपले अपूर्ण
थियो यात्रा अन्यौल र अनिश्चित
यस्तो लाग्थ्यो के थियो र कमी
मेरो भाग्यको भण्डारमा ?
केवल तिमी भएपछि
निस्फिक्री सयर गरिरहँन्थे
तिम्रो मनको आकाशमा
ढुक्कसँग भरोसा गर्थें
समुन्द्र जत्रो तिम्रो विचारमा
आनन्दित हुन्थें
जूनजस्तो तिम्रो शितलतामा
र त चलाएकी थियौ आजसम्म
एकल शासन निरन्तर
मेरो मुटुको सिंहासनमा बसेर ।

भएभरको संसार जितेर पनि यसरी
खै अरू के जित्ने लोभमा
चट्टान परे झैँ एकाएक
‘’कसलाई बढी माया गर्छौ ?
मलाई कि तिम्री आमालाई ??”
लाडिएर सोध्यौ एउटा वेबकुफ प्रश्न
र, भयौ सत्ताच्युत अनायास
यो हृदयको साम्राज्यबाट ।

(वाक्सेलीको हालै प्रकाशित ‘भस्मासुरको देश’ कविता सङ्ग्रहबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here