पहुँचका आधारमा योजना बन्ने प्रवृत्ति हटाउन नसकिए समृद्धि नआउने : मुख्यमन्त्री भट्ट

0
44

धनगढी, मङ्सिर २ । पहुँचका आधारमा विकासका योजना चयन गर्ने प्रवृत्तिले प्रभावकारी कार्यान्वयनमा समस्या उत्पन्न हुने गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् ।

आजबाट राष्ट्रिय योजना आयोगको पहलमा थालिएको ‘दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन मूल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास’ कार्यक्रममा बाल्दै उनले पहुँचका आधारमा योजना बन्ने प्रवृत्ति हटाउन नसकिए समृद्धि नआउने विचार प्रस्तुत गरे ।

बदलिँदो परिवेशमा जनताको माग र आवश्यकता अनुसारका योजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने संयन्त्र बनाउनुपर्ने भन्दै उनले नजीकको नाता र ठूलो मान्छेका आधारमा योजना बन्ने प्रवृत्तिले योजनाको कार्यान्वयनमा समस्या रहेको बताए ।

कुन तहका योजनालाई कुन सरकारले अगाडि बढाउने भन्ने विषयमा हाल देखिएको अन्यौलता हटाउन पहल गर्नुपर्नेमा उनले जोड दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले आयोगले अहिले दीर्घकालीन सोच बनाउने, पन्ध्रौँ योजना बनाउने, तहगत रुपमा समन्वयका काम गर्ने, तथ्याङ्क प्रणाली बलियो बनाउनेलगायत कामलाई प्राथमिकता दिएको बताए ।

आयोगका सदस्य सुशील भट्टले विकाससम्बन्धी योजनाहरुलाई परिणाममुखी बनाउने गरी आयोगले आवश्यक योजना बनाइरहेको जनाएका छन् ।

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा, प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीलगायतले दिगो विकास मैत्री योजना र तिनको कार्यान्वयनको बारेमा आफ्नो विचार व्यक्त गरेका थिए ।

तीनदिने सो कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सहसचिव, प्रदेशसभाका विषयगत समितिका सभापति, सभामुख, उपसभामुख लगायतले सहभागिता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here