गुणात्मक र भरपर्दो शिक्षा आजको आवश्यकता : मन्त्री पोखरेल

0
431

जनकपुर, भदौ ७ । गुणात्मक र भरपर्दो शिक्षा आजको आवश्यकता रहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

आज जयगोविन्द साह अध्ययन केन्द्रले आयोजना गरेको ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताको माग अनुरूपको शिक्षा अहिलेको आवश्यकता रहेको विचार व्यक्त गरे ।

उनले अब विद्यालयमा राजनीति र टे«ड युनियनको कुरा नगरी प्राविधिक शिक्षाको संस्कृति निर्माणतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औंल्याए । मन्त्री पोखरेलले सरकारले विगतमा भएका विसङ्गतिलाई हटाउने उद्देश्यका साथ अनिवार्य शिक्षा ऐन ल्याउन लागेको बताएका छन् ।

सरकारी विद्यालयको अवस्था ज्यादै खराब भएका कारण यसका सुधारका लागि सबैको गहन जिम्मेवारीको आवश्यकता रहेको बताउँदै अब विद्यालयमा सुयोग्य शिक्षक राख्ने प्रणालीको विकास अपरिहार्य भइसकेको उल्लेख गरे ।

सरकारले फरक क्षमता भएका विद्यार्थीका लागि फरक विद्यालय खोल्ने तयारी गरिरहेको जनाउँदै मन्त्री पोखरेलले अबको साक्षरता अभियानलाई पूर्णरूपले सफल बनाउन सबै निकाय अग्रसर हुनुपर्नेमा जोड दिए ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, शिक्षक र गैरसरकारी संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here