नेविसंघभित्र उमेर हद तोकियो

0
350

काठमाडौँ, असोज २२ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद पारित भएको छ । आइतबार राति सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी उक्त व्यवस्था कायम रहने संघको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।

नेविसंघमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औँ महाधिवेशनदेखि कायम छ । नेविसंघमा प्रमुख विवादका रूपमा देखिएको उक्त व्यवस्था टुङ्गिएसँगै संघको १२औँ महाधिवेशन गर्ने बाटो खुल्ला भएको छ । नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल गत भदौमा समाप्त भई तीन महीना समयावधि थपिएको छ ।

कांग्रेसमा संस्थापन पक्षको कायम राख्नुपर्ने र संस्थापन इतर पक्षको उमेर सम्बन्धी उक्त व्यवस्था हटाउनुपर्ने भन्ने अडान रहेको थियो ।

बैठकले संघको विधानको सो व्यवस्था पारित गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेताले निर्णयप्रति असहमति जनाएका थिए । संघको संशोधित विधानबारेमा कांग्रेसको आगामी असोज २५ गते बस्ने बैठकमा थप छलफल गरी पारित हुने प्रवक्ता शर्माले बताए ।

दिउँसो ३ बजेदेखि राति झण्डै ११ बजेसम्म बसेको बैठकले अन्य समसामयिक जनजीविकाका विषयमा समेत निर्णय गरेको छ । बैठकले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा देखिएको अनियमितताका सम्बन्धमा भइरहेको छानबिनलाई शीघ्र टुङ्गोमा पुर्याई दोषीलाई कानूनी कारवाही गर्न माग गर्ने निर्णय गरेको छ ।

कांग्रेसले बूढीगण्डकी जलविद्युत् आयोजनाका सम्बन्धमा कांग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा गठित समितिले गरेको अध्ययन प्रतिवेदनका आधारमा स्वदेशी पूँजीमै बनाउनुपर्ने माग गरेको छ ।

बैठकले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै आवश्यकभन्दा अन्य रुख कटानको प्रस्तावमा भने विमति जनाएको उनले बताए ।

मुलुकभर महिला हिंसा र बलात्कारका घटनामा वृद्धि हुँदै जान थालेकोप्रति चिन्ता जनाउँदै शान्ति, सुरक्षा सुदृढ बनाउन बैठकले सरकारसँग माग गरेको छ । महत्वपूर्ण चाडपर्वको मुखमा बजारमा चर्को मूल्यवृद्धि भएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

यस सम्बन्धमा कांग्रेसले ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने प्रस्तावसमेत पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here