जाजरकोटमा करोडौंको सेतो चिनी खिराङलोको अवैद्य रुपमा संकलन तथा चोरी निकासी

0
50

– बद्री पन्त

– अवैद्य रुपमा जडीवुटी संकलन तथा निकासीमा सरोकारवालाको मिलोमतो, वन विभाग वेखबर    ।
– गाउँपालिकाले उठायो डेढ करोड अवैद्य कर ।
– डिभीजन बन कार्यालयले जडीवुटी संकलन लगायत बनपैदावरको कार्य योजना स्वीकृत गराएको    छैन ।
– वातावरणीय परीक्षण प्रतिवेदन (आइई) र वातावरणीय प्रभाव मूलयाङ्कन (एआए) विना नै       संकलन ।

जाजरकोट, कात्तिक ११ । जाजरकोटको बारेकोट गाउँपालिकाका विभिन्न पाटन तथा लेकबाट करोडौंको सेतो चिनी जडीवुटीको चोरी निकासी भएको छ ।

स्थानीय बासिन्दा तथा सरोकारवालाको मिलोमतोमा बारेकोटको लेकाली भुभागमा पाइने उक्त मुल्यवान् जडीवुटी अवैद्य रुपमा संकलन तथा निकासी भएको हो । अवैद्य तवरले मुल्यवान् तथा लोपोन्मुख सेतो चिनी चोरी निकासी हु“दासमेत वन विभाग लगायत निकाय वेखबर छन् ।

सेतो चिनीको चोरी निकासी बारेकोट मात्र हैन, कुशे गाउँपालिका र नलगाड नगरपालिकाका लेकबाट पनि भएको छ । डिभीजन वन कार्यालय जाजरकोटको इजाजत विना नै सेतो चिनीको संकलन भएको हो । बारेकोटको मुसे, चाखुरे, कोटे, कालीमुरी, दियावाल्न, देउरालीपाटन, ठाकुरजी, कराइचुला, खुम्बु, कुशे गाउँपालिकाको रातापाटन, भीमपोस्तक, बाङ्गाडाडा, ब्युलीढुंगा, सरुकाँद, चाल्नेचौर, कुशेपाटन, नलगाड नगरपालिकाको सिउन, रुप, मंसीरी लगायत लेकबाट मुल्यवान् जडीबुटी सेतो चिनीको चोरी निकासी हुने गरेको हो ।

संकलन पुर्जी विना नै ती लेकबाट एक लाख क्विन्टल बढी परिमाणको सेतो चिनी चोरी निकासी भएको छ । असोज पहिलो सातादेखि तेस्रो सातासम्म ६/७ हजार स्थानीयले विभिन्न लेकमा पुगेर ठुलो परिमाणको सेतो चिनी संकलन गरेको खुल्न आएको छ ।

पाटनमै सेतो चिनी काँचो (नसुकाएको) प्रति किलोको ३० रुपैया र पकाएर सुकाएको प्रति किलोको १ हजारका दरले विक्री हुने गरेको स्थानीयको भनाई छ । पाटनमा १ जना मजदुरले एक दिनमा २ सय किलोसम्म सेतो चिनी संकलन गरेका छन् ।

बारेकोटका पाटन/लेकबाट दश करोडको सेतोचिनी चोरी निकासी भएको छ । अवैद्य रुपमा सेतो चिनी चोरी निकासी हु“दा लाखौंको सरकारी राजश्व चुहावट भएको स्थानीयको भनाइ छ ।

के हो सेतो चिनी ?

सेतो चिनी उच्च लेकाली भु–भागमा पाइने र जमिन मुनि गाना फल फल्ने मुल्यवान जडीवुटी हो । बैज्ञानिक नामको सेतो चिनीलाई स्थानीय भाषामा खिरौलो भन्ने गरीन्छ । सेतो चिनीका सखरखण्ड जस्तै गाना हुन्छन् । सेतो चिनीको गानालाई जमिनबाट निकालेर सुकाई विक्री गर्ने गरीन्छ । हरेक असोज महिनामा सेतो चिनीको गाना परीपक्व हुने गर्छ । भदौ महिनासम्म यसको विरुवा हरियो हुन्छ । यसलाई प्रत्येक बर्ष निकाल्न मिल्छ । तर केहि भाग गाना जमिन मुनि छोडेर निकाल्दा यसको विउ मासिदैन । डिभीजन बन कार्यालयले कार्ययोजना बमोजिमको राजश्व लिएर मात्र सेतो चिनीको संकलन पुर्जी दिन सक्छ । सेतो चिनी औषधीमा प्रयोग हुने अनुमान गरीएको छ । यो चिन लगायत देशमा विक्री हुने गरेको छ । नेपालमा सेतो चिनीको उपयोग भएको पाइदैन ।

 सेतो चिनीको चोरी निकासी बारे के भन्छ बन कार्यालय ?

कार्ययोजना स्विकृत नभएकोले डिभीजन वन कार्यालयले सेतो चिनी संकलन तथा निकासीका लागि इजाजत दिन सकेको छैन । संकलन इजाजत विना सेतो चिनी लगायत जडीवुटीको खोजतलास तथा विक्री वितरण गर्न मिल्दैन । कार्यालयले कार्ययोजनामा प्रति किलो सेतो चिनीको ५ रुपैया राजश्व तोकेको छ । कार्यालयले चालु आर्थिक बर्षमा ५६ हजार किलो सेतो चिनी संकलन इजाजत दिने कार्ययोजनामा समावेश गरेको छ । वन बन पैदावार संकलन, वन संरक्षण, वन विकास, पुर्वाधार निर्माण लगायत कार्यका लागि पेश भएको कार्यायोजना बन तथा वातावरण मन्त्रालयबाट स्विकृत हुन नसकेको निमित्त डिभीजन प्रमुख नवराज पौडेल बताउछन् । उक्त कार्ययोजना वन विभागमै थन्किएको छ । इजाजत विना सेतो चिनी संकलन तथा निकासी गर्नु अवैद्य भएको उनी वताउछन् । अवैद्य रुपमा सेतो चिनी चोरी निकासी रोक्न कार्यालयले वन प्राविधीक खटाएको उनले बताए । जनशक्ति अभाव, भौगोलिक विकटता लगायत कारण चोरी निकासी नियन्त्रणमा लिन नसकेको उनले बताए । बन प्राविधीकले बारेकोट गाउपालिका ८ मा दुई हजार १ सय किलो, ४ मा तीन हजार ५ सय किलो र २ मा एक हजार किलो अवैद्य रुपमा संकलन गरेको सेतो चिनी बरामत गरेको उनको भनाई छ । स्थानीय प्रशासन, प्रहरी, स्थानीय तहलाई बन कार्यालयको स्विकृत विना जडीवुटीको संकलन तथा निकासी नगर्न सहयोग गरीदिन पटक पकट अनुरोध गरेको उनले बताए । बारेकोट गाउपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई सेतो चिनीको संकलन तथा निकासी गर्न रोक लगाउन सुझाव दिएको पौडेलले बताए ।

बारेकोट गाउपालिकाले किन अशुल्यो अवैद्य कर ? 

सेतो चिनीको संकलन तथा निकासीका लागि बारेकोट गाउपालिकाले डेड् करोड संकलन तथा निकासी कर अशुलेको छ । गाउपालिकाले संकलन गर्न जाने बारेकोट भित्रका मजदुरबाट प्रति ब्यक्ति ३ सय र बाहिरकालाई ५ सय प्रवेश शुल्क लिएको छ । त्यस्तै गाउपालिकाले जडीवुटी खरीद तथा निकासी गर्ने प्रति ब्यवशायी(ठेकेदार)बाट २ लाखका दरले धरौटी अशुलेको छ । व्यवशायीले दाउरा (इन्धन) वाफत ५ हजारका दरले गाउपालिकामा थप रकम जम्मा गरेका छन् । संकलन कार्य पछि गाउपालिकाले प्रति किलो सेतो चिनीको १० रुपैया निकासी कर लिने निर्णय गरेको छ । प्रवेश शुल्क ५/६ हजारले तिरेको र ६२ जना व्यवशायीले दुई लाखका दरले धरौटी रकम जम्मा गरेको अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । व्यवशायीबाट कुल परिमाणको आधारमा उक्त धरौटी कट्टा गरी थप निकासी कर रकम लिने निर्णय भएको उनले बताए ।

चोरी निकासी नियन्त्रण गर्न नसकिने अवस्था आएपछि गाउपालिकाको निर्णय अनुसार संकलन गर्ने अनुमती दिएको अध्यक्ष शाहले बताए । सेतो चिनी चोरी भएर नष्ट हुन थाले पछि संकलन पुर्जी पछि लिने गरी बन कार्यालय र गाउपालिकाको सहमती अनुसार उक्त निर्णय भएको उनले बताए । सेतो चिनीको जथाभावी संकलन तथा निकासी कर अशुली र चोरी निकासी हुन नदिन गाउपालिकाले आधा दर्जन जनशक्ति लेकमा खटाएको उनले बताए । सेतो चिनीबाट अशुलेको डेड् करोड कर गाउपालिकाको खातामा जम्मा भएको शाहले बताए । उक्त जडीवुटी संकलनका लागि असोज १८ गते देखि सर्वसाधारणलाई पाटन जान खुल्ला गरीएको उनको भनाई छ । सशस्त्र प्रहरी र सेनाको ब्यारेख स्थापना नभएसम्म बारेकोटको जडीवुटी चोरी निकासी नियन्त्रण गर्न नसकिने उनले बताए । यस बर्ष अशुल भएको रकमबाट बनक्षेत्र विकास, जडीवुटी संरक्षण तथा उपयोग लगायतमा खर्च गरीने उनले बताए । आगामी बर्ष बारेकोटमा जडीवुटी प्रशोधन केन्द्र स्थापना गर्नुको साथै उक्त जडीवुटी चोरी निकासी रोक्न चाखुरे, धजाहाल्न लगायत लेकमा सुरक्षा पोष्ट स्थापना गर्ने योजना रहेको अध्यक्ष शाहले बताए ।

बारेकोट र कुशे गाउपालिकाको लेकमा पाईने जडीवुटी बर्षेनी जुम्ला, डोल्पा लगायत जिल्लाका सिमानाबाट चोरी निकासी हुने गरेको छ । बारेकोटबाट चोरी निकासी भएको ५० मेट्रिक टन सेतो चिनी चाखुरे लेक पल्लो पट्टी जुम्लाको गोठीचौर गाउपालिका १, नापानीमा लुकाई छिपाई राखेको बारेकोट ५ का पृथीबहादुर नेपालीले बताए । यस्तो मुल्यवान जडीवुटीलाई गाउपालिकाले जथाभावी संकलन गर्न लगाउनु भुल भएको उनले बताए । जुम्ला र डोल्पाका स्थानीयले जथाभावी उक्त जडीवुटीको विउ समेत नष्ट गरी निकालेको उनको भनाई छ । गाउपालिका लगायत निकायले सेतो चिनीको चोरी निकासीमा लापरवाही गरेको उनले बताए । व्यवशायीले सेतो चिनी पकाउने कार्यका लागि धुपी सल्ला लगायत बन पैदावारको समेत जथाभावी क्षेती गरेको उनले बताए । तीन सय क्विन्टल का“चो सेतो चिनीका गाना पकाएर सुकाउदा ७०÷८० क्विन्टल ठहर हुने उनले बताए । जथाभावी गाना निकाल्दा सेतो चिनी लोप हुने देखिन्छ उनले भने । विगतमा जथाभावी संकलन तथा चोरी निकासी गर्दा पाटनमा पाईने भुत्ले, धुपजरी, कटुको, पा“चऔंले, पदम चाल्नो, जटामासी, निरमासी, सुनमासी लगायत सयौं जडीवुटी लोप भएको उनले बताए । चोरी निकासी भएको जडीवुडी जुम्ला हुदै नेपालगंज जाने गरेको उनले बताए ।

डिभीजन बन कार्यालय जाजरकोटले ५६ हजार किलो भन्दा बढी सेतो चिनीको संकलन इजाजत दिन नमिल्ने बताउछ । कोटे लेकमा मात्र ४÷५ हजार क्विन्टल सेतो चिनी संकलन भएको छ । त्यत्तिकै परिमाणको सेतो चिनी दर्जनौं लेकमा संकलन भएको छ । सेतो चिनी प्रति ठेकेदारले १ देखि दुई हजार क्विन्टल संकलन गरेका छन । यतिबेला जमिनबाट निकालेको सेतो चिनीलाई कोटे, कराईचुला, तम्तु, खम्बु, नापनी लगायत लेकमा पकाउने कार्य भैरहेको छ । सेतो चिनी पकाउने र सुकाउने मान्छे मात्र लेक भएको र संकलन कर्ता घर फर्कीसकेका छन । वातावरणीय परीक्षण प्रतिवेदन(आइई) र वातावरणीय प्रभाव मूलयाङ्कन (एआए) विना संकलन गर्न नपाउने व्यवस्था रहेको छ ।