‘७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमाको दायित्व सरकारले नै व्यहोर्ने’

0
334

काठमाडौँ, असोज ९ । बीमा समिति र नेपाल बीमक संघले संयुक्त रुपमा आयोजना गरेको ‘वित्तीय सुदृढीकरण ः विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ आँै सम्मेलन प्रारम्भ भएको छ ।

आजदेखि सुरु भएको सो सम्मेलन दुईदिसम्म सञ्चालन हुने बताइएको छ । सो सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका ५०० भन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ ।

सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघु बीमालगायत क्षेत्रमा अलगअलग कार्यपत्र प्रस्तुत गरिनेछ । सो सम्मेलनमा मानव निर्मित विपद् एवं प्राकृतिक विपद्पछि हुने क्षतिमा बीमाको जोखिमलाई कसरी न्यून गर्ने भन्ने विषयमा सहभागीहरू बीच अनुभव आदानप्रदान हुनेछ ।

अर्थमन्त्री युवराज खतिवडाले सम्मेलन शुभारम्भका क्रममा समग्र आर्थिक समृद्धिका लागि वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताउँदै बीमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै लैजानुपर्ने बताए ।

उनले सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिई सबै जनतालाई यसको पहुँचमा ल्याउन लागिएको भन्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमाको दायित्व सरकारले नै व्यहोर्ने जनाए ।

यातायात, घरजग्गा व्यवसाय, उद्योगलगायत केही सीमित क्षेत्रमा रहेको बीमाको दायरालाई आगामी दिनमा बढाउँदै अन्य क्षेत्रमा विस्तार गर्न आवश्यक रहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

सो समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र संघका अध्यक्ष दीपप्रकाश पाण्डेले विपद् जोखिमलाई कम गर्दै वित्तीय सुदृढीकरण गर्न चुनौती रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here