सरकारद्वारा ढुङ्गा, बालुवा र गिटीको उत्खननका लागि समिति गठन

0
43

काठमाडौँ, कात्तिक ९ । ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमनका लागि सरकारले समिति गठन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा अनुगमन तथा समन्वय समिति गठन गरिएको मन्त्रालय सहसचिव पुरुषोत्तम नेपालले बताए ।

उनले ढुङ्गा, बालुवा र गिट्टीको जथाभावी उत्खनन् र बिक्री भएकाले नियन्त्रण गर्नका लागि समिति गठन गरिएको बताए । समितिको सदस्यमा समन्वय उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, प्रदेश अन्तर्गत जिल्ला वन, वातावरण तथा भूसंरक्षण अनुगमन समितिले तोकेको कार्यालय प्रमुख, इञ्जिनियर र जिल्ला समन्वय अधिकारी सदस्यसचिव रहने छन् ।

समितिले ढुङ्गा, बालुवा र गिट्टी उत्खननका सम्बन्धमा स्थानीय तहलाई आवश्यक निर्देशन दिनसक्ने सहसचिव नेपालले बताए । समितिले ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गर्दा वातावरणीय अध्ययन प्रतिवेदनको शर्तको परिपालना गरे/नगरेको, स्वीकृत, विधि प्रक्रिया परिमाण बमोजिम उत्खनन र सङ्कलन भए/नभएको राजश्व चुहावट र चोरी निकासी भए/नभएको, ढुङ्गा, बालुवा र गिट्टीको मूल्य निर्धारण, क्रसर उद्योगले तोकेको मापदण्ड पूरा गरे/नगरेको जस्ता कार्य स्थानीय तह, उत्खनन सङ्कलनकर्तालाई गराउने उनको भनाइ छ ।

समितिले दिएको निर्देशन पालना नगरे ढुङ्गा, बालुवा र गिट्टी उत्खननमा रोक लगाउने अधिकारसमेत दिइएको सहसचिव नेपालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here