कारागारको बसाई जोखिमपूर्ण भएको कैदीबन्दीहरुको गुनासो

0
274

बर्दिवास, ३१ जेठ । महोत्तरी कारागारका कैदीबन्दीहरुले कारागारमा आफुहरुको बसाई जोखिमपूर्ण रहेको गुनासो गरेका छन् । जीर्ण अवस्थामा रहेका कारागारमा कैदीहरुलाई राखिएको भएकाले जुनसुकै बेला ढल्न सक्ने हुँदा आफुहरुको बसाइ जोखिमपूर्ण भएको कैदीबन्दीहरुको गुनासो रहेको छ ।

विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका सो कारागार भवन त्यसपछि मर्मत सम्भार हुन नसक्दा दिनानुदिन भित्ता र छत उप्किएर झर्ने क्रम बढ्न थालेको कैदीबन्दीले बताएका छन् । दैनिकजसो भवनको भित्ता तथा छतका इँटा र सिमेन्टका टुक्रा उप्किएर झर्दा यही पुरिने पो हो कि भन्ने डरमा बस्नु परेको महिला कक्षकी कैदी ललिता सिंहले भनिन् । यसैगरी कारागारका चौकीदार समेत रहेका पुरुष कक्षका कैदी श्रीनारायण महतोले जीर्ण भवनको बसाई प्रत्येक पल पलमा मरेको जस्तो अवस्था र डरलाग्दो हुने गरेको बताउँछन् । पुरुष र महिलाका लागि छुट्टाछुट्टै कक्ष रहेको कारागारमा जम्मा १३५ कैदीबन्दी राख्ने क्षमता छ ।

पछिल्लो समय उक्त कारागारमा प्रायजसो ४०० को हाराहारीमा कैदीबन्दी रहँदै आएको कारागार प्रशासनले जनाएको छ । अहिले महिला कक्षमा पाँच आश्रित बालबालिकासहित ३९ र पुरुषकक्षमा ३७२ गरी ४०१ कैदीबन्दी रहेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी गराए । ती कैदीबन्दीहरुमध्ये ६० प्रतिशतभन्दा बढी धनुषा जिल्लाका रहेको पाइएको छ । धनुषामा कारागारको अभावमा त्यहाँका न्यायिक निकायले यहाँ पठाउने भएका कारण पनि यो कारागारमा कैदीबन्दीको चाप बढेको कारागार प्रमुख ठाकुरले बताए ।

पुरानो जीर्ण भवनमा कैदी हरुलाई राख्नको लागि जोखिम हुने भएकाले पुरानो भवनलाई टालटुल गरेर समस्या समाधान नहुने बताउँदै कारागार प्रमुख ठाकुरले नयाँ कारागार भवन बनाउन आवश्यक भएको बताए । कारागारको भवनको अवस्था दिनानुदिन नाजुक बन्दै गए पछि यो कुरा आफूले जिल्लास्थित स्थानीय प्रशासन, कारागार व्यवस्था विभाग र सम्बद्ध अन्य निकायमा जानकारी गराएको कारागार प्रमुख ठाकुरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here