नगरका पिता सफाई अभियानमा

0
60

सडकको फोहोर टिप्दै ,छरिएका फोहोर बढार्दै 

रमा लुइँटेल
ललितपुर, पुस २७ । लगनखेल बसपार्क नजिकै प्रहरीहरु, प्रसासनिक व्यक्तिहरु, जनप्रतिनिधि लगायत व्यक्तित्व सहभागि भएको ठूलो समूह थियो । त्यो उपस्थितिबारे बटुवाले आफ्नै खाले लख काटिरहेका थिए । सार्वजनिक यातायातमा गुडिरहेकाहरु पनि ‘के भयो हँ’ भन्दै झ्यालबाट घाँटी तान्दै हेरिराखेका देखिन्थे । निजी सवारी धनीहरु आफ्नो साधनलाई बिस्तारै गुडाएर हेरिराखेका थिए । पुसको ठण्डीलाई पर्वाह नगरि एका बिहानै त्यो समूह उक्त चोकमा सफाई अभियानका बारेमा सन्देश दिन जम्मा भएको थियो । क्लिन काष्ठमण्डप अभियान एक वर्ष पुगेको उपलक्ष्यमा ललितपुर महानगरपालिकामा यो समूहले शुक्रबार सफाइ अभियान थालेको हो । यो ‘फोहोर टिप्ने होइन, फोहोर जथाभावी नफ्याँक्औ’ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको क्लिन काष्ठमण्डप अभियानका मुख्य अभियन्ता केपी खनालले बताए ।

ललितपुर महानगरपालिकासँगको सहकार्यमा सुरु गरेको सफाइ अभियानको पहिलो दिन लगनखेल चोकबाट मंगलबजारसम्म र मंगलबजारबाट लगनखेल हुँदै सातदोबाटोसम्म उक्त समूहले बाटोमा जथाभावी फ्याकिएको फोहोर संकलन गरेको थियो । अभियन्ता खनालले भने, चेतनाका लागि यस्ता कार्यक्रम महत्वपूर्ण छ । शिक्षाले मात्रै मान्छेको व्यवहार सुधार नहुने तर्क राख्दै उनले लेखपढ गरेका मान्छेले जथाभावी फोहोर फ्याक्ने गरेको बताए ।

ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले जथाभावी फोहोर फ्याँक्नु सभ्यता विपरित काम भएको जानकारी गराए । उनले जथाभावी फोहोर फ्याक्नेलाई जरिवाना लिएर दण्डीत गर्ने कानुन भएको स्पष्ट पारे । जथाभावी फोहोर नफ्याँकेर नगरलाई सफा र सुन्दर बनाउने अभियानमा सहयोग गर्न नगरवासीसँग उनले अनुरोध गरे । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले चेतनशील मान्छेले जथाभावी फोहोर नफ्याक्ने बताए । ‘विदेशबाट गोजीमा हालेर ल्याएको चक्लेटको खोल एयरपोर्ट आएपछि जथाभावी फ्याँक्नेलाई के भन्ने ? उनले प्रश्न गरे ।

फोहोरको व्यवस्थापन व्यक्तिको संस्कार र सभ्यतासँग जोडिएको विषय भएको बताउँदै शिक्षाले मात्रै पनि फोहोर जथाभावी फँयाक्ने बानी नहट्ने बताए । उनले फोहोर व्यवस्थापनमा नगरवासीको सहयोग महत्वपूर्ण हुने धारणा राखे । चक्रपथ सफाइ अभियानका मुख्य अभियन्ता लोकबहादुर टण्डनले सहरलाई सुन्दर सहर बनाउन फोहोर व्यवस्थापन महत्वपूर्ण भएको बताए । सहरमा जथाभावी छरिएका र थुप्रिएका फोहोरको डंगुर सहरलाई कुरुप बनाएको ब ताए । उक्त कार्यक्रममा सेना, प्रहरी सशस्त्र प्रहरी, विद्यार्थी लगायत विभिन्न संघसंस्थाको सहभागिता थियो । नेपाल आइडलमा पाँचौ स्थानमा पर्न सफल अमित बरालले कार्यक्रममा गीत गाएर सो महोलमा रौनकता थपेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here