प्रविधिको विकाससँगै हुलाक सेवा लोप हुँदै

0
273

काठमाडौँ, असोज २३ । कुनै बेलाको समयमा सुचना आदान प्रदानको भरपर्दो माध्यमको रुपमा हुलाक सेवालाई लिने गरिन्थ्यो । त्यो बेलाको समयमा सर्वसाधारणको सुचना आदान प्रदानको माध्यम भनेकै हुलाक सेवा मात्र थियो । कसैले आफ्ना आफन्तहरुलाई सन्चो विसन्चको खबर पठाउनु पर्यो भने यसकै प्रयोग गर्ने गर्दथे ।

आफ्ना सुचना चिठ्ठी मार्फत पठाउने चलन थियो । यसरी पठाएको चिठ्ठी सम्बन्धित ठाउँमा पुग्नको लागि निकै नै समय लाग्ने गर्दथ्यो । यो माध्यमबाट सुचना आदान प्रदान गर्दा समय लाग्ने र सम्बन्धित ठाउँमा पुग्या पुगेन भन्ने अत्तोपत्तो नहुने भएकाले यो माध्यम खासै प्रभावकारी भने हुँदैन थियो ।

सूचना आदान प्रदानको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा कहीँ कतैबाट नयाँ खबर आयो की भन्ने मान्छेहरुमा पर्न जान्थ्यो । पछिल्लो समय सूचना र प्रविधिमा आएको विकाससँगै हुलाकको आकर्षण निकै कम भएको पाइन्छ ।

सुचना प्रविधिको विकासमा बाढी नै आएको र प्रविधि र समयको मागअनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको कम आकर्षित हुन थालेका हुन् । विश्वमा हुलाकले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्यकता अनुसार चल्न नसक्दा सेवा प्रभावकारी बन्न सकेको छैन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव वीरेन्द्रकुमार मिश्र सूचना र प्रविधिको माध्यम परिवर्तन भएकाले सेवा आधुनिकीकरण गर्नसके अझै हुलाकको आवश्यकता हुने बताउँछन् । पछिल्लो समयमा प्रयोगमा आउन छोडेको हुलाक सेवाको विकास भएको बर्षै बर्ष बितिसकेको छ ।

यसै अवसरमा मंगलबार १४४औँ विश्व हुलाकदिवस मनाइएको छ । यो दिवस मनाइरहँदा यसको सेवाले गति लिन नसकेकोमा र चुस्त हुन नसकेकामा चिन्ता व्यक्त गरिएको छ । अघिल्लो वर्षको तुलनामा गतवर्ष हुलाकमा चिठीपत्र आदानप्रदान ३ दशमलव ४ प्रतिशतले घटेको गोश्वारा हुलाक कार्यालय काठमाडाँैका प्रमुख हुलाक अधिकृत वेदप्रसाद भण्डारीले बताए ।

नेपालमा विभिन्न चुनौतीकाबीच काम गर्नुपरेकाले सेवा प्रभावकारी बनाउन नसकेको भण्डारीको भनाइ छ । यद्यपि चुनौतीका बीचमै हुलाकको पार्सल (पुलिन्दा) तथा व्यावसायिक सेवातर्फ आकर्षण बढ्न थालेको भण्डारीले दाबी गरेका छन् । गएको वर्ष पार्सल १२ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । हुलाकको कूल रु ५० करोड राजश्व मध्ये पहिलो नम्बरमा द्रुतडाँक सेवा, त्यसपछि पार्सल र चिठीपत्रबाट न्यून आउने गरेको छ ।

चिठीपत्र घट्दो छ, पार्सल र व्यावसायिक सेवाको माग बढ्दो छ, भण्डारीले भने– व्यावसायिक सेवा दिने हो भने अझै हुलाकको प्रभावकारिता रहन्छ, अब व्यावसायिकतामा जानुको विकल्प छैन । जापानमा दूधलगायत खाद्यसेवा हुलाकबाटै उपलब्ध हुन्छ । भुटानमा हुलाक बस सेवा छ जुन कोलकत्तासम्म जान्छ ।

नेपालमा पनि यस्ता व्यावसायिक सेवा ल्याउनुपर्ने आवश्यकता देखिन्छ । नेपालमा उपत्यकाको तीन जिल्लामा शुरु भएको घुम्ती सेवासमेत देशव्यापी बन्न सकेको छैन । हुलाक सेवा विभागका महानिर्देशक आनन्दराम रेग्मी हुलाकको गरिमा र महत्व कायम राख्न कर्मचारी एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । स्थिर सरकार भएकाले पनि सेवा प्रभावकारी हुनेमा उनी आशावादी छन् ।

गोश्वारा हुलाकका अनुसार ३० प्रतिशत दरबन्दी रिक्त हुनु, प्रविधिलाई आत्मसात् गर्न नसक्नु, सेवा रुपान्तरण गर्न नसक्नु, बजेटको अभाव तथा हुलाकप्रति हेर्ने दृष्टिकोण नै नकारात्मक हुँदा समस्या देखिएको छ ।

सेवा विस्तार गर्न सरकारले बनाएको हुलाक सुधार कार्यदलका संयोजक राजेन्द्रप्रसाद शर्माले सञ्चार क्षेत्रको पुरानो सेवा खस्कँदै गएकाले स्वायत्त संस्थाका रुपमा विकास गरी सेवा समयानुकूल बनाउनुपर्नेमा जोड दिए । कार्यदल यसैमा केन्द्रित रहेर काम गरिरहेको उनले बताएका छन् ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक बालकृष्ण घिमिरे हुलाक सेवा सरकारको प्राथमिकतामा पर्न नसकेको बताए । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनका अध्यक्ष टङ्क हुमागाई प्रविधिमैत्री बनाउँदै अन्य देशका हुलाकले झै सेवा दिनु जरुरी रहेको बताउँछन् ।

तथ्याङ्क अनुसार विश्वमा १९२ देशको छ लाख कार्यालयमा ५३ लाख हुलाककर्मी छन् । कुनै समय चीन र इजिप्टमा हुलाक सेवाको संरचना बनेको थियो । आधुनिक हुलाक सेवाको शुरुवात सन् १६३५ बाट भएको हो । सन् १८७८ मा विश्व हुलाक संघ स्थापना भएको थियो ।

नेपालमा भने १९३५ बाट हुलाक सेवाको शुरुवात भएको हो । सन् १९५६ मा नेपालले विश्व हुलाक संघको सदस्यता लिएको थियो । हाल ७० जिल्लामा ८४२ इलाका र ३ हजार बढी अतिरिक्त हुलाक कार्यालय रहेका छन् ।

त्यस्तै हुलाक सेवामा १७ हजार जनशक्ति परिचालित छन् । नेपालबाट ३९ देशमा द्रुत डाँकसेवा सञ्चालनमा रहेको छ ।
हुलाकसेवा विभाग र गोश्वारा हुलाक कार्यालयले मंगलबार राजधानीमा १४४औं विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव वीरेन्द्रकुमार मिश्रले चिठीमा टाँचा लगाएर कार्यक्रमको उद्घाटन गरे । सोही सन्दर्भमा मंगलबार काठमाडौमा हुलाकमा उत्कृष्ट सेवा पुर्याउने कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here