जापानी विदेशमन्त्रीद्वारा ललितपुरका सम्पदाको बारेमा चासो

0
212

ललितपुर, पुस २६ । जापानी विदेशमन्त्री तारो कोनोले ललितपुर महानगरपालिमा रहेको पाटन दरबार स्क्वायरस्थित सम्पदाहरुको बिहीबार अवलोकन गरेका छन् । विदेशमन्त्री कोनोको स्वागतमा महानगरका मेयर चिरीबाबु महर्जन , उपमयेर गीता सत्याल , ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी लगायत पुगेका थिए ।

कोनोले पाटन दरबार स्क्वायरमा रहेको मूलचोक, सुन्दरीचोक,भण्डारखाल बगैंचाको बारेमा जानकारी लिएका थिए । यसैगरी पाटन दरबार स्क्वायरमा पुननिर्माण हुँदै गरेको कृष्ण मन्दिर, चार नारायण मन्दिरको कला र त्यसको महत्वको बारे सोधखोज गरे । त्यसैगरी विश्वेश्वरा,गंगाहिटीको बारेमा कोनोले जानकारी लिएका थिए । जापानी विदेशमन्त्री कोनोले काष्ठकला, धातुकला र ढुंगामा खोपिएको कला चासोपूर्वक जिज्ञासा राखेका थिए ।

महानगरका सम्पदा सल्लाहकार डा रोहित रंजितकारले २०७२को भूकम्पमा क्षतिग्रस्त भएका पाटन दरबार स्क्वयारका सम्पदाहरुको पुर्ननिर्माणको सन्दर्भमा कोनोले चासो व्यक्त गरेको बताए । रोहितले कोनोलाई सम्पदाको अवस्था र महत्वका बारेमा जानकारी दिएका थिए । बुधबार नेपाल आएका कोनो व्यस्त समय तालिकालाई व्यवस्थापन गदै पाटन दरबार स्क्वायर अवलोकनका लागि पुगेका थिए ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सम्पदाका बारेमा जानकार हुन जापानका विदेशमन्त्री कोनो उत्सुक भएको बताए । कोनो पाटनको कला, संस्कृतिबाट प्रभावित भएको बताउँदै अर्कोपटकको भ्रमणमा पाटनको लागि एक दिन छुट्याउने प्रतिबद्धता उनले व्यक्त गरेको मेयर महर्जनले बताए । मेयर महर्जनले नेपालको टेन्डर प्रक्रिया र सम्पदा, भूकम्पपछिको सम्पदा पुनर्निर्माणका सन्दर्भमा छलफल गरेको बताए ।

२८ सदस्यीय प्रतिनिधिमण्डलसहित कोनो नेपाल आएका हुन् । बिहीबार राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीमा भेट्ने कार्यक्रम रहेको छ । कोनो विदेशमन्त्री भएपछि पहिलोपटक नेपाल आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here