संवैधानिक निकायलाई आफ्नो प्रभाव र अनुकुलमा पार्न सरकार सक्रिय : महत

0
1219

२०१६ सालमा नुवाकोटको कबिलासमा जन्मनु भएका डा. प्रकाशशरण महत नेपालको प्रमुख प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसका सहमहामन्त्री हुनुहन्छ । २०३६ सालदेखि पार्टीमा सक्रिय सहभागी भई नेपाली कांग्रेसको प्रभावशाली नेताका रुपमा आफुलाई स्थापित गराउन सफल हुनुहुन्छ । महतले विद्यार्थी जीवनकाल देखि नै राजनीतिको शुरुवात गर्नु भएको थियो । नेविसंघको महामन्त्री, सर्वदलिय वार्ता कमिटी सदस्य, परराष्ट्र मन्त्री, उर्जा मन्त्री लगाएतको जिम्मेवारी सम्हालि सक्नु भएका डा.महत नेपलाका विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय सहभागी जनाउने क्रममा पटक पटक जेल पर्नु भएको थियो । त्यस्तै नेपालमा द्धन्द्ध व्यवस्थापन र शान्ति प्रक्रियामा पनि महत सक्रिय रही यहाँ सम्म आईपुग्नु भएको छ । देशभरी नै सरकारको कामप्रति व्यापक असन्तुष्टी भएको र हाल देशले अत्यन्त दुर्भाग्यपूर्ण परिस्थिति सामना गरीरहनु परेको डा.महत बताउनु हुन्छ । प्रस्तुत छ, लोकसत्ता डटकमका लागि महतसंग जानुका बरालले गरेको कुराकानीः

बाम एकता भएर सरकार बनिसकेपछि हत्या, हिंसा, बलात्कारजस्ता अपराधका घटनाहरु दिनहुँ बढ्दो छ, यसको न्यूनिकरण हुन नसक्नुमा को बढी जिम्मेवार छ ?

हत्या, हिंसा, बलात्कारजस्ता अपराधका घटनाहरु न्यूनिकरण गर्न नसक्नुमा सरकार नै मुख्य जिम्मेवार छ । बहुमतमा बनेको अहिलेको कम्युनिष्ट सरकारको ध्यान कसरी राज्यका सम्पूर्ण संयन्त्रहरुलाई नियन्त्रण गर्न सकिन्छ, संवैधानिक निकायलाई आफ्नो प्रभाव र अनुकुलमा कसरी निर्णय गराउन सकिन्छ भन्नेमा नै केन्द्रित देखिन्छ । नीजि क्षेत्रको आर्थिक क्रियाकलाप र सरकारी गैर सरकारी निकायका कतिपय क्रियाकलापहरु पनि जनतालाई केन्द्रविन्दुमा राख्नुको सट्टा त्यसबाट व्यक्तिगत रुपमा कति फाइदा लिन सकिन्छ भन्ने मानसिकता सरकारमा हावी भएको छ । तर अहिले नेपाली जनताले यो सरकारको नियत छर्लङ्ग बुझेर सम्पूर्ण जनता सरकारका विरुद्धमा उत्रिसकेका छन् । स्वयं कम्युनिष्ट पार्टीका नेताहरु पनि विरोधमा आइसकेका छन् । चाहे एयर बस वाइड बडीको विषयमा होस्, चाहे बुढीगण्डगीको सन्दर्भमा होस्, चाहे चीनी आयात प्रतिवन्ध लगाउने सन्दर्भमा होस्, चाहे प्रदेश राजधानी निर्माणका विषयमा होस् । भर्खरै मात्र प्रदेश नं. ७ को राजधानी जंगलको विचमा बनाउनका लागि सारा संरचनालाई तहसनहस पार्ने विषयमा नै होस् । यी सम्पूर्ण प्रकरणको पछाडि आर्थिक स्वार्थ जोडिएको छ । यसले गर्दा अहिले देशभरी नै सरकारको कामप्रति व्यापक असन्तुष्टी छ ।

सरकारका यस्ता गैरजीम्मेवार र अर्थ केन्द्रित क्रियाकलापले कसलाई बढि असर पर्न जान्छ ?

अवश्य पनि सरकारका यस्ता क्रियाकलापले सबैभन्दा बढी असर जनतालार्ई पर्न जान्छ । यस्ता स्वार्थपुर्ण गतिविधिले हाम्रो सिंगो देशलाई नै घाटा भइरहेको छ । दुई तिहाइ बहुमतको दम्भमा यस सरकारलाई अब हामीले जे गर्दा पनि हुन्छ भन्ने मानसिकता हावी भई संस्थागत भ्रष्टाचार मौलाउनका लागि मद्दत पुगेको छ । बहुमतको दम्भमा उनीहरुको मानसिकतामा के परेको छ भने अब हाम्रो विरोध कसैले पनि गर्न सक्दैन, हामीले जे गरे पनि हुन्छ, हामी त कम्युनिष्ट पार्टी हो, अहिले जनताले नै निर्वाचित गरेर पठाइदिएकाले हामीले यतिकै सत्ता कब्जा गर्दा पनि केही फरक पर्दैन भन्ने सोच राख्ने पार्टी भएकाले घमण्डको पारो माथि पुगेको हो । उनीहरुमा जुन मानसिकता विकसित भयो त्यसको परिणाम स्वरुप संस्थागत भ्रष्टाचार, मनलागि निर्णयहरु, हत्या, हिंसा, बलात्कार दिनानु दिन बढ्नुको मुख्य कारण हो । यस्ता किसिमका घटना घटाउनेलाई सरकारले संरक्षण गर्नाले घटनामा अझै वृद्धि हुने सम्भावना छ ।

सरकारका यस्ता कार्य चिर्नका लागि कांग्रेसको भुमिका के रहन्छ ?

सरकारका निरङ्कुशतावादी र राणा शासनवादी प्रवृति चिर्नका लागि कांग्रेसको महत्वपूर्ण भूमिका रहन्छ । आगामी दिनमा कांग्रेस थप सक्रिय हुन जरुरी छ । अहिलेको सरकारका गलत क्रियाकलापहरुको संसदमा पनि व्यापक विरोध भइरहेको छ । पार्टी तहबाट पनि विरोध भएकै छ । तर अझ कांग्रेसले यसलाई थप प्रभावकारी बनाउनु जरुरी छ । आफ्ना भातृ संगठनहरुबाट पार्टीका विभिन्न तह र तप्कामा भएका बदमासीहरुलाई स्थानीय तहदेखि केन्द्रसम्म नियाल्न जरुरी छ । विभिन्न संगठनका जिम्मेवार व्यक्तिहरुले आवाज उठाउनु जरुरी देखिन्छ । त्यस्तै गरेर राष्ट्रिय मुद्दाहरुमा केन्द्रित रहेर पार्टीले सम्पूर्ण पार्टीका भातृ संगठन एवं सुभेच्छुक संस्थाहरुलाई परिचालन गरी जहाँ जहाँ गलत भइरहेको छ त्यस विषयमा सक्रिय रुपमा विरोध गर्नु जरुरी छ । जनताको असन्तुष्टी, जनताको समस्याका विषयमा सही ढंगले अब नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने समय आएको छ । यस्ता कुरामा कांग्रेस सचेत छ । कांग्रेस आगामी दिनहरुमा थप सक्रियताका साथ लागि पर्ने कुरामा विश्वास दिलाउन चाहन्छ ।

निर्मला हत्या काण्डमा संलग्न दोषी पहिचान हुन नसक्नुको पछाडिको रहस्य के होला ?

अनुसन्धानमा खटिएका मुख्य पात्रहरु नै मुल रुपमा प्रमाणहरु नष्ट गर्न लागिपर्नुले नै घटना संकास्पद देखिन्छ । हाल देशले अत्यन्त दुर्भाग्यपूर्ण परिस्थिति भोगिरहेको छ । जसले अनुसन्धान गर्ने जिम्मा लिएको छ, दोषीलाई पक्राउ गर्ने जिम्मा लिएको छ, उहीबाट नै प्रमाण नष्ट गर्ने काम भएको छ । अनुसन्धान कर्ताहरुकै बारेमा प्रश्न उठेको छ । अपराधिलाई पक्रिने प्रमाणहरु नष्ट भएका कारण नै यो अवस्था आएको हो । जसले यो प्रमाणको नष्ट गर्यो तिनीहरुलाई पनि कडाभन्दा कडा कारवाही गरी कानुनको दायरामा ल्याउनुपर्यो । सुरुमा सरकारका अभिव्यक्तिहरु हत्या, हिंसा, बलात्कारका विषयमा जनता आन्दोलनमा उत्रिदा राजनीतिकरण भयो यस्तो हुनु नपर्ने भन्ने किसिमका अभिव्यक्तिहरु आयो । त्यसले गर्दा पनि अनुसन्धान सही ढंगबाट अगाडि बढ्न सकेन । अपराधि लुकाउने र घटनामाथि ढाकछोप गर्ने काम सरकारबाट नै भएकाले यसको मुख्य अभियुक्त भनेकै सरकार भएको पुष्टि हुन्छ ।

कांग्रेसका लागि यस्तो असहज परिस्थितिमा पनि कांग्रेसभित्र गुट उपगुट न्युनिकरणको साटो झन फस्टाउँदै जानुको कारण के होला ?

हाम्रो पार्टीभित्र नीतिगत रुपमा आज पनि कुनै गुट छैन । तर केही व्यक्तिवाद हावी हुँदा मतभिन्नता हुनु स्वभाविक हो । लामो ऐतिहासिक कालखण्ड पार गरिसकेको पार्टी भएको कारणले गर्दा समय सापेक्ष वैचारिक रुपमा आन्तरिक मतभिन्नता हुनु स्वभाविक हो । अब चाँडै नै नेपाली कांग्रेसमा देखिएका गुट र उपगुटको अन्त्य भइ एकढिक्का भएर अगाडि बढ्नु पर्ने परिस्थितिजन्य अवस्था सिर्जना भएको छ र नेपाली कांग्रेस व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको लागि सदैव समर्पित पार्टी भएको कारणले गर्दा पनि अब गुट उपगुट रहँदैन ।

कांग्रेसमा गुट र उपगुटको अन्त्य गर्नका लागि के गर्नुपर्ने आवश्यक देखिन्छ ?

सर्वप्रथम त हामीले व्यक्तिभन्दा पार्टी माथि हुन्छ भन्ने कुरा बुझ्नु पर्यो । पार्टी बलियो भयो भने हामी सबै बलियो हुन्छौ भन्ने सोच राख्नु जरुरी छ । जुन जुन तह र तप्कामा रहेर हामी काम गरिरहेका छौं सोही स्थानमा सम्बन्धित व्यक्तिहरु जिम्मेवार हुन जरुरी देखिन्छ । जस्तैः स्थानीय तहमा आबद्ध साथीहरुले स्थानीय इकाइको समितिमा छलफल हुनुपर्दछ र त्यहाँ असन्तुष्टि व्यक्त गर्नुपर्दछ । क्षेत्रभित्रका कुरामा असन्तुष्टी छ भने सोही स्थानको कमिटीमा कुरा राखि त्यही भित्र मनको मैलो पोख्नुपर्दछ । त्यस्तै जिल्ला समिति भित्रका कुरामा असन्तुष्टी भए जिल्ला भित्रै र केन्द्रका कुरामा असन्तुष्ट भए केन्दिय समितिमा कुरा राख्नु पर्दछ । सम्बन्धित स्थानमा छलफल भएपछि विधानतः एउटा निष्कर्ष निस्किसकेपछि बाहिर यस विषयमा एक अर्कालाई आलोचना, निन्दा गर्ने आफु सही र सज्जन भएको सावित गर्नपटि लाग्नु गलत हो । अरु सब खराब म मात्र सही भन्ने प्रवृतिको अन्त्य हुनुपर्दछ । यस्ता प्रवृतिले पार्टीप्रति झन नकारात्मक दृष्टिकोण प्रभाव हुन्छ । यस्ता प्रवृतिमा हामी कोही अल्झिरहेका छौ, संलग्न छौं भने त्यस्ता कार्य त्याग्नुपर्छ । पार्टीको फोरमभित्रका असन्तुष्टी त्यहीँ भित्र राख्नुपर्दछ त्यसपछि त्यहीँबाट निष्कर्ष निकालेपछि सबैले त्यसलाई आत्मसाथ गर्न सिक्नुपर्दछ । व्यक्तिगत रुपमा आफुलाई केन्द्रविन्दुमा राखेर हामी कसैले पनि कुरा गर्नु हुँदैन । यो पञ्चायत व्यवस्था होइन जसमा व्यक्ति–व्यक्तिले आफुलाई केन्द्रविन्दुमा राखोस् । व्यक्ति–व्यक्तिले आफुलाई केन्द्रविन्दुमा राख्दा पार्टी माथि पुग्न सक्दैन । विधानको परिधिभित्र बाँधिएर हामी सबैले काम गर्नुपर्दछ । विधानको सीमा भित्र जो कोही पनि रहेर काम गरे गुट उपगुट मौलाउने हैन यसको अन्त्य हुन्छ । पार्टीका विचार, सिद्धान्त, विधानलाई मान्न नसक्ने मान्छे कांग्रेस हुन सक्दैन ।

पार्टी नेतृत्वप्रति पदाधिकारी, कार्यसमिति भित्रकै मान्छेहरु असन्तुष्ट हुनुको कारण चाहिँ के होला ?

नेपाली कांग्रेस पार्टीभित्रका पदाधिकारी, कार्यसमितिभित्रका व्यक्तिहरुले मुलतः आफु नेतृत्वमा आउन आफुलाई केन्द्रविन्दुमा राखेको पाइयो । अरुलाई होच्याउने, आफु सही अरु सब गलत छन् भन्ने कुरा विल्कुल गलत हो । सबै एक ठाउँमा बसेर काम गरेर जाउँ, कामका आधारमा व्यक्तिको पहिचान हुन्छ । को बढी सक्षम छ, को बढी जिम्मेवार छ भन्ने कुरा प्रस्ट देख्न र व्यक्ति पहिचान गर्न सकिन्छ । महाधिवेशनको संघारमा महाधिवेशनका लागि आएका प्रतिनिधि, कार्यकर्ताहरु एक ठाउँ भएका बेलामा म उम्मेदवार हुँ भनेर भन्दा हुन्छ । त्यही निर्वाचनबाट आफु अघि बढ्न सकिन्छ त्यस अवस्थामा म अझ योग्य छु, म अझ सक्षम छु, म अझ सवल छु भन्न त्यो बेलामा पाइन्छ । तर अहिलेदेखि नै हामीले एक अर्कालाई आलोचना गर्ने कुरामा नै समय खर्च गर्ने, संगठन विस्तारमा हामी केन्द्रित नहुने हो भने पार्टी बलियो हुँदैन ।

गत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जिल्ला जिल्लाबाट कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै कारवाहीका लागि सिफारिस भएका व्यक्तिका विषयमा केन्द्र किन मौन छ ?

अनुशासन समितिमा पहिला भएका साथीहरुले राजीनामा दिनुभयो । त्यसकारण त्यस समितिबाट राजीनामा दिइसकेपछि त्यस समितिलाई पूर्णता दिएर जिल्ला तहबाट आएका उजुरीहरु छानविन गरी प्रमाणका आधारमा कारवाही गर्नुपर्ने हो । अनुशासन समिति अहिलेसम्म बन्न सकेको छैन । अनुशासन समिति बनाउने कुरामा पार्टी सभापतिले प्रस्ताव राख्नुभयो । केही नेताहरुले सुझाव सल्लाह दिनुभयो । त्यसका लागि कार्यसमितिले पूर्णता दिने भनि तोकियो तर पछि फेरी को हुने, के हुने भन्ने कुरामा अन्य नेताहरुको सहयोग भएन । आन्तरिक छलफलमा अन्य नेताबाट सहयोग नभएपछि को बन्ने भन्ने मै कुरा अड्किरहेको छ । यसलाई पूर्णता दिएर हरेक जिल्लाका विषयमा केन्द्र गम्भीर हुनुपर्ने देखिन्छ ।

जिल्लाका विवादित विषयलाई मिलाउन नसक्दा पार्टीमा झन् अन्यौलता बढ्दैन र ?

समयमा निर्णय हुन नसक्नु दुर्भाग्यको कुरा हो । समयमा निर्णय भइसकेपछि प्रमाणका आधारमा दोषी ठहरिन्थे, निर्दोषहरुलाई निराधार लगाइएका आधारहरु पनि स्पष्ट हुन्थे । पार्टीको विधान अनुसार बहुमतमा निर्णय गर्न सकिन्छ भने अनुरुप पार्टी सभापतिले सबैबीच सहमतिको प्रयास गर्नुभयो । पार्टी सभापतिले सबैको चित्त बुझाउन खोज्दा समयमा निर्णय हुन सकेन । पार्टीभित्रको अन्यौलता चिर्नका लागि पार्टी सभापति र सिङ्गो केन्द्रिय समितिले यस विषयमा छिटै नै निर्णय गर्ने विश्वास दिलाउन चाहन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here