पार्टीभित्र देखिएको ध्रुविकरणले नेविसंघभित्र ध्रुविकरणकोे छाँया देखा पर्यो : निलकण्ठ रिजाल

0
1775

स्कूल जीवनकालदेखि नेविसंघको सक्रिय राजनीति गर्दै आउनु भएका कुशल संगठक विद्यार्थी नेता निलकण्ठ रिजालले २०४९ सालमा चितवनकै स्थानीय विद्यालयमा इकाइ समिति सचिवबाट राजनीति जीवनको प्रारम्भ गर्नुभयो । २०५३ सालमा विरेन्द्र युथ क्याम्पस चितवनको स्ववियू सदस्यको रुपमा आफुलाई अगाडि बढाउन सफल हुनुभयो । २०५५ सालमा सोही क्याम्पसको स्ववियू सचिव हुँदै २०५९ सालमा प्राविधिक विद्यार्थी परिषद्को केन्द्रिय सभापतिमा निर्वाचित हुनुभयो । २०६२ सालमा नेविसंघको केन्द्रिय हुँदै २०६४ सालमा नेविसंघको सह–महामन्त्री बन्न सफल हुनुभयो । नेविसंघको ११औं महाधिवेशनसम्म आइपुग्दा चुनावी मैदानमा आफुलाई अध्यक्षको रुपमा खडा गरे पनि विभिन्न कारणवश आफ्नो प्रतिवद्धताबाट पछाडि हट्दै मनोजमणि आचार्यलाई अध्यक्षको रुपमा अगाडि सारि आफु उहाँको प्रस्तापकको रुपमा देखा पर्नुभयो । नेविसंघको ११औं महाधिवेशनमा वैचारिक वहससहित नीतिगत सिद्धान्तसहित चुनावी मैदानमा होमिनुभएका रिजालले आचार्यलाई जिताउन नसके पनि आचार्य र नेविसंघ अध्यक्ष नैनसिंह महर बीचको आपसी समझदारी अनुसार रिजाल हाल नेविसंघको केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ । ०६२÷६३ को जनआन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै नेविसंघको सक्रिय राजनीतिज्ञको छवि बनाउनुभएका रिजालसँग लोकसत्ता डटकमका लागि गरिएका कुराकानी सारसंक्षेपमा :

ने बि संघ को १२औँ महाधिवेशन तोकियो भन्ने कुरा के सत्य हो ?

नेपाल विद्यार्थी संघको केन्द्रीय समितिको बैठक बसेर हामीले एउटा कार्यतालिका बनाएका छौं । त्यो कार्यतालिका अनुसार कात्तिक १६, १७, १८ मा नेपाल विद्यार्थी संघको केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरेका छौं । त्यो भन्दा अगाडि जिल्ला अधिवेशन, प्रदेश क्षेत्रको अधिवेशन भन्दा अगाडि गाउँपालिकाको अधिवेशन हुन्छ । तोकिएको मितिमा १२औं महाधिवेशन अवश्य हुन्छ ।

संघीय ढाँचा अनुसार नै नेविसंघले विधान कार्यविधि केहि बनाएर अगाडि बढ्न लागेको हो र ?
११औँ महाधिवेशन सम्पन्न गर्दै गर्दा हामीसँग पुरानै बिधानहरु थिए । १२औं महाधिवेशनको पूर्वसन्ध्यामा आएर हामीले विधानलाई परिवर्तन गरेका छौ । नयाँ संरचना अनुसार हाम्रा संगठनिक संरचनाहरु संघीय संरचना अनुसारको हुनुपर्छ भनेर हामीले हाम्रो विधानहरु बनाएका छौं । हामीले अहिले बनाएको विधानमा गाउँपालिकाको कार्यसमिति थप गरेका छौ । प्रदेश क्षेत्रमा पनि इकाई थपिएको छ । अब यस पटकको निर्वाचनमा सातै वटा प्रदेशमा प्रदेशको समिति पनि बन्नेछ । सातवटा संरचनामा हाम्रा संगठनिक संरचना बनेका छन् । जसअनुसार तल्लो निकाय भनेको हाम्रो विद्यालय समिति र त्यसपछि क्याम्पस समिति हो । स्कुल र क्याम्पस समिति भन्दामाथि हाम्रो पार्टीका समितिहरू छन् । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र त्योभन्दा माथि प्रदेश समिति छ । प्रदेश क्षेत्र समितिभन्दा माथि हाम्रो जिल्ला समिति छ । जिल्ला समितिभन्दा माथि हाम्रो सातै प्रदेशमा कमिटी गठन हुन्छ । सातै प्रदेशमा अधिवेशन गर्दै गर्दा हामीले प्रदेशका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष लगायतको कार्यसमिति निर्माण गर्नेछौं । योभन्दा माथि हाम्रो केन्द्रीय समिति हुनेछ । केही नीतिगत कुराहरु केन्द्रीय महाधिवेशन गर्ने र विभिन्न जिल्ला अधिवेशन गर्नेबाहेकका सम्पूर्ण कामहरु यसपालि हामीले प्रदेश कमिटीलाई हस्तान्तरण गर्ने विधान बनाएका छौं । नेविसंघको संगठनिक संरचना निर्माणमा प्रदेशको संरचनालाई अलिकति बढी जिम्मेवारी दिनेगरी हामीले विधान लिएर आउँदै छौं ।

अब बन्ने समिति जिल्ला समिति बलियो हुन्छ की प्रदेश समिति ?
स्वभाविक हिसाबमा जिल्लालाई हामीले पार्टीसँग समन्वय गरेर काम गर्ने वातावरण बनाउन खोेजेका छौ । सबभन्दा पालिकालाई अलि बलियो समिति बनाउन खोजेका छौं किनभने राज्यका सम्पूर्ण संरचनाहरु पालिकामा हुने भएकाले पालिका समितिलाई पनि त्यही अनुरुपका अधिकार हस्तान्तरण गर्ने योजना बनाएका छौं । त्यसैगरी हामीले सात वटा प्रदेशका सबै संरचनाहरुमा बढी बलियो बनाउने कोसिस गरेका छौं । संगठन गर्ने अधिकार सात वटा प्रदेशलाई दिएका छौं । त्यति मात्र नभएर स्ववियूको निर्वाचनमा टिकट वितरण गर्दा सातै वटा प्रदेशमा त्यहाँको प्रदेश समितिले नै टिकट वितरण गर्नेछ । विगतमा केन्द्रिय समिति आफैले टिकट वितरण गर्ने गरेको थियो तर अब भने प्रदेश कमिटी भित्र बाट नै टिकट वितरण संयन्त्र बनाएका छौं । उसले आफ्ना मातहतका जिल्लाहरुमा आफैले टिकट वितरण गर्ने परिपाटीको परिकल्पना हामीले यो विधानमा गरेका छौं ।

नेविसंघभित्र गुटउपगुटको हावी हुनुमा को बढी जिम्मेवार छ ?
स्वभाविक रुपमा लोकतान्त्रिक पार्टीको लोकतान्त्रिक संगठनभित्र गुट उपगुट हुनु स्वभाविक हो । यी गुटउपगुट अस्थायी हुनुपर्छ । केन्द्रिय महाधिवेशको सन्दर्भमा आफ्ना मन परेका मान्छे र मन परेका उम्मेदवारहरुको पक्षमा लाग्नु स्वभाविक हो । उनीहरुको प्रचार प्रसार गर्नु र त्यसको पक्षमा लाग्दै गर्दा सबै मान्छेले एउटै मान्छेलाई मन पराउनुपर्छ भन्ने कुरा हुँदैन । त्यसैले निर्वाचनमा आएका महाधिवेशन प्रतिनिधिहरुले केहीले कसलाई मन पराउँछन् केहीले अर्कै मान्छेलाई मन पराउँछन् । यहीँबाट गुट निर्माण हुन्छ तर त्यो गुट अस्थायी हुनुपथ्र्यो । त्यो गुट चाहिँ विचारहरुको बीचमा प्रतिस्पर्धा हुनुपर्छ र विचारहरुको आधारमा बनिनुपर्छ भन्ने हाम्रो धारणा हो । नेपाल विद्यार्थी संघका विगतका दिनहरु हामीले हेर्ने हो भने पार्टी नेतृत्वसँग जोडिएर पार्टी नेतृत्वको आधारमा केही नेविसंघका नेतृत्वमा आउने चलनले र पार्टी नेतृत्वको आशिर्वादले ती पार्टीभित्र देखिएको ध्रुविकरणको आधारमा नेपाल विद्यार्थी संघमा ध्रुविकरणकोे छाँया देखा पर्ने हुनाले तलसम्म गुटबन्दीहरु देखिएको हो । त्यस्ता गुटबन्दीहरुले संगठनलाई कमजोर बनाउँछ, संगठनलाई धरासयी बनाउँछ । अधिवेशनमा केवल नेतृत्व छान्नका निम्ति राम्रो हुन्छ । गुटबन्दी ठीक हो तर त्यो गुटबन्दी चिरसायी हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।

तपाई पनि एउटा गुटको नेता हो भन्ने आरोप छ । तपाई कुन गुटको नेविसंघ ?
नेविसंघलाई अलि फरक ढंगबाट हिँडाउनु पर्छ भन्ने मान्यता राख्ने म एउटा व्यक्ति हुँ । नेविसंघको ११औं महाधिवेशनको पूर्वसन्ध्या भन्दा निकै लामो समय अगाडिदेखि नै हामीले संगठनभित्र अब व्यक्ति हैन विचारको नेतृत्व हुनुपर्छ भन्ने गरेका थियौं । संगठन भित्र व्यक्तिहरुको बीचमा हैन विचारहरुको बीचमा प्रतिस्पर्धा हुनुपर्छ भनेर हामीले एउटा वैचारिक अभियान चलायौं । हाम्रो नेविसंघ संगठित प्रशिक्षित नेविसंघ भन्ने अभियान संचालन गरेर देशका ६८ वटा जिल्लामा पुगेका थियौं । यो अभियान संचालन गर्दै गर्दा हामीले विभिन्न जिल्लाहरुमा गएर हाम्रा राजनीतिक दृष्टिकोण, सैद्धान्तिक दृष्टिकोण, सांगठनिक दृष्टिकोणहरु प्रस्तुत गरेको थियौं । त्यो भन्दा अगाडिका अधिवेशनहरुमा केवल नेताहरुका उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुन्थ्यो । तर हामीले ११औं महाधिवेशनमा व्यक्ति हैन अब विचारको प्रतिस्पर्धा हुनुपर्छ र जसको विचार विद्यार्थीहरुले मन पराउँछन् त्यही विचारले संगठनको नेतृत्व हुनुपर्छ भनेर हामीले एउटा प्रयास गरेका थियौं तर त्यो प्रयास सम्भव हुन सकेन । ११औं महाधिवेशन ११औं दिनसम्म चल्यो । त्यहाँ कुनै वैचारिक कुराको मन्थन भएन । कुनै विचारहरुको बीचमा प्रतिस्पर्धा भएन । केवल नेताहरुको प्रतिनिधिको बीचमा मात्रै प्रतिस्पर्धा भयो । अब सधैं हामीले त्यसो गरेर हुँदैन । १२औं महाधिवेशनलाई फरक ढंगबाट वैचारिक मन्थनको थलो बनाउनुपर्छ भनेर शुरुवातदेखि नै हामीे त्यो कुरामा सतर्क भएका छौ । मलाई लाग्छ म व्यक्तिगत रुपमा कुनै गुटको नेता भन्दा पनि वैचारिक हिसाबले संगठनलाई अगाडि बढाउनुपर्छ विचारहरुको बीचमा प्रतिस्पर्धा हुनुपर्छ भनेर अगाडि बढेको एउटा विद्यार्थी भएको हुनाले मेरो कुनै गुट पनि छैन । आम विद्यार्थी साथीहरुको साथ लिएर म अगाडि बढ्न चाहन्छु । त्यसकारण कुनै नेताहरुको विशेष आशिर्वाद लिएर गुट बनाउने पक्षमा म छैन ।

नेविसंघको नयाँ नेतृत्व टिके प्रथाबाट चुनिने हल्ला छ नि के यो सत्य हो ?
नेविसंघको सुरुको इतिहासलाई हेर्ने हो भने २०२७ साल बैशाख ६ गते स्थापना भएपछि त्यो बेला सुरुवातमा नै नेविसंघ निर्वाचित ढंगबाट नेतृत्व बनेको हो । त्यो बेला विपीन कोइराला र मार्सल जुलुङ शाक्य बीच तत्कालीन प्रतिबन्धित समयमा पञ्चायत कालीन निरङ्कुश शासन परिवेशमा पनि नेविसंघको नेतृत्व अधिवेशन र निर्वाचनबाट हामीले पाएका थियौं । तर बीचमा त्यही पञ्चायतकाल परिवेशले नेविसंघको निर्वाचन हुन सकेन । पञ्चायत काल सकिने बित्तिकै प्रजातन्त्र आउने बित्तिकै २०४८ सालमा वुटवलमा भएको अधिवेशनबाट हामीले निर्वाचित नेतृत्व पाएका थियौ । त्यसपछिका केही दिनहरुमा पार्टीले हस्तक्षेप गर्ने परिपाटीले गर्दा संगठन कमजोर बन्दै गयो । पार्टीले हस्तक्षेप गर्दै गर्दा टिके नेतृत्वबाट संगठन राम्रोसँग चल्दैन भन्ने कुरा हामीले पूर्वअभ्यास गरिसकेका छौं । त्यही कुरा ११औं महाधिवेशनमा ११ दिन लगाएर भए पनि हामीले हाम्रो नेतृत्व निर्वाचित ढंगबाट लिएर आयौं । त्यसकारणले मलाई लाग्छ अबको १२औं महाधिवेशन पनि यो लोकतान्त्रिक युगमा लोकतान्त्रिक पार्टीको भातृ संगठन भएको नाताले यहाँभित्रको अधिवेशन लोकतान्त्रिक पद्धतिबाट हुनुपर्दछ टिके प्रथाबाट हुनु हुँदैन भनेर हामीले बारम्बार पार्टीलाई सतर्क पनि गराएका छौं । पार्टीलाई यस कुरामा खबरदारी पनि गराएका छौं । बरु हामी बीचमा कुनै अन्तद्र्वन्द्व छ भने त्यो अन्तद्र्वन्द्व घटाएर नेविसंघको महाधिवेशन गर्नुपर्छ । महाधिवेशन निर्वाचनबाट नै नेविसंघको नेतृत्व ल्याउनुपर्छ भन्ने हामीले पूर्ण रुपमा मान्यता राख्दछौं ।

१२औं महाधिवेशनमा तपाईंको तयारी कस्तो छ ?
मैले ११ औं महाधिवेशनमा आफुलाई अध्यक्षको उम्मेदवारको रुपमा अगाडि सारेको थिए तर विभिन्न कारणवश मैले आफुलाई उम्मेदवारको रुपमा अगाडि बढाउन सकिन । अहिले म हालसालै नेविसंघको केन्द्रिय उपाध्यक्ष मनोनित भएको छु । केन्द्रिय उपाध्यक्ष मनोनित गर्दा नैनसिंह महर जीले मनोजमणि आचार्यसँग प्रतिस्पर्धा गर्दै गर्दा मनोजमणि आचार्यले चुनाव हारिसकेपछि अर्को समुहलाई पनि संगठन संचालनमा लेर आउन भनेर त्यो समुहलाई सन्तुलित ढंगबाट ल्याउनको निम्ति मलाई उपाध्यक्षको रुपमा मनोनित गर्नुभयो । त्यस कारणले मेरो सबैभन्दा महत्वपूर्ण दायित्व भनेको अब नेविसंघको महाधिवेशन गराउनु हो । मेरो अर्जुनदृष्टि भनेको नेविसंघको महाधिवेशन गराउनु नै हो । महाधिवेशनको मैदानमा पुगिसकेपछि साथिभाइहरुको सरसल्लाह, साथीभाइहरुको माया ममता र सरसल्लाह सुझावको आधारमा जुन परिवेश परिस्थिति उत्पन्न हुन्छ त्यही अनुसार मैले आफुलाई अगाडि बढाउँछु । त्यो भन्दा अगाडि मेरो उद्देश्य भनेको संगठनभित्र भएको विकृति र विसङ्गतिलाई हटाएर संगठनभित्र भएको अराजकतालाई हटाएर संगठनलाई महाधिवेशनमा केन्द्रित गराउनु नै मेरो अर्जुनदृष्टि भएको नाताले अहिले मेरो उम्मेदवारीको बारेमा म यहाँ अलि चर्चा गर्न चाहन्न ।

हत्या, हिंसा, बलात्कार एवं मूल्य वृद्धि लगायतका समस्यामा नेविसंघको आवाज वुलन्द हुन सकेन किन ?
नेविसंघको यो समिति आएको दुई बर्ष भयो । यो समयमा हाम्रो मुलुकमा विभिन्न निर्वाचनहरु सम्पन्न भए । पार्टीको भातृ संस्थाको जिम्मेवार युवाहरुको नाताले प्रदेश, संघीय निर्वाचनहरुमा त्यसपछि स्थानीय निर्वाचनहरुमा हामीले नेतृत्वदायी भुमिका निर्वाह गर्यौ । त्यो बाहेक स्वतन्त्र विद्यार्थीको निर्वाचन पनि यही समय भित्र भयो । स्ववियुको निर्वाचनमा नेविसंघले अहिलेसम्म सबैभन्दा ठूलो विद्यार्थी संगठनको रुपमा आफुलाई अगाडि लिएर आएको छ । मुलुकभरका धेरै क्याम्पसहरुमा अधिकतम क्याम्पसहरुमा नेविसंघले विजय प्राप्त गरेको छ । त्यसकारणले यो दुई बर्षभित्रमा धेरै निर्वाचनहरु सम्पन्न गर्न लाग्दै गर्दा खेरी महाधिवेशन सन्दर्भका कुराहरु गर्दै गर्दा हामीले जनसरोकारको विषयमा, जनजीवनको विषयमा हामीले हाम्रा कुराहरु जनताले चाहेजस्तो ढंगबाट उठाउन सकेनौं । यो कुरा हामी स्वीकार्छौ तर यसको मतलव हामीले केही गर्दै नगरेको भने होइन । हामीले पेट्रोलियम पदार्थको मुल्य वृद्धिदेखि लिएर बलात्कारका घटनाहरुमासमेत बुलन्द आवाज उठाउँदै आएका छौं । निर्मला पन्तको हत्याको घटनाको विषयदेखि लिएर हरेक जनसरोकारका विषयहरुमा नेविसंघले हरेक ठाउँमा क्याम्पस, क्याम्पसका साथीहरु आन्दोलित हुने, प्रदर्शन गर्ने, सरकारलाई दबाव दिने खालका गतिविधिहरु गर्दै आएका छौ । जुन रुपमा हामी अगाडि बढ्नुपर्ने र विरोध गर्नुपर्ने थियो त्यो रुपमा नभएको कुरा सत्य हो तर हामी त्यसलाई झन कडा ढंगबाट अगाडि बढाउने छौं ।

विरोध प्रदर्शनजस्ता संवेदनशील कार्यमा पनि नेविसंघ छिन्न भिन्न हुनु कति जायज हो ?
एउटा जिवन्त संगठनमा केही न केही गुटबन्दी त पक्कै हुन्छ । अघि मैले भनेको जस्तो ती गुटबन्दी अस्थायी हुनुपर्ने थियो । अलिकति चिरस्थायी गुटबन्दीहरु नेविसंघभित्र थिए । त्यसले संगठनलाई कमजोर त बनाएको छ नै सामाजिक रुपमा संगठन कमजोर भएको छ । तर ती कुराहरुलाई हामीले अहिले मिलाइ सकेका छौं । विगत एक बर्षदेखि केन्द्रिय कमिटीको बैठक बस्न नसकेको अवस्थामा हामीले हालसालै मात्र एक महिना अगाडि केन्द्रिय समितिको बैठक बसेर सबै साथीहरुको सहमतिमा नेविसंघको १२औं महाधिवेशनको तयारी गरेका हौं । आगामी दिनहरुमा नेविसंघभित्र न सांगठनिक संरचनामा त्यस्तो देखिन्छ न कुनै सामाजिक मुद्दाहरु उठानमा मतभेद हुन्छ । अब नेविसंघ एक ढिक्का भएर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु ।

तपाईको नेतृत्वमा नेविसंघ एकढिक्का हुन सक्छ त ?
स्वभाविक रुपमा म अरुभन्दा गुटबन्दी कम गर्नुपर्छ, गुटबन्दीले संगठनलाई बिगार्ने काम गर्दछ, संगठनलाई कमजोर बनाउँदै गयो भनेर सधैं मिलाउने व्यक्ति भएका कारण थोरै मात्र भएपछि गुटबन्दी कम गर्नुपर्छ भन्ने विद्यार्थी नेतामध्ये म हुँ । गुटभन्दा माथि संगठन हो । संगठन ठूलो भयो भने मात्र ठूलो संगठनको नेतृत्व अथवा ठूलो संगठनको नेता बन्दा हामीलाई गौरव अनुभूति हुन्छ । यसकारणले संगठनलाई गुटबन्दीबाट बाहिर निकालेर साझा नेतृत्व दिनुपर्छ भन्ने मेरो मान्यता हो । त्यही अनुरुप मैले विभिन्न समुह, उपसमुहमा रहेका साथीहरुसँग व्यवहार गरेको छु । साथीहरुको क्षमता अनुसार न्याय दिनुपर्छ, साथीहरुको योगदानको आधारमा जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता राख्ने म एउटा विद्यार्थी नेता भएको हुनाले साथीहरुलाई साझा नेतृत्व दिन सक्नु भन्ने आत्मविश्वास छ ।

नेविसंघभित्र देखिएको उमेर हदबन्दीको व्यवहारलाई तपाईंले कसरी चिर्नुहुन्छ ?
मेरो सिद्धान्त अनुसार विद्यार्थी राजनीतिमा उमेर हदबन्दी हुुनुहुँदैन । पार्टीले उमेर हदबन्दी लगाएर निर्णय गरिसक्यो, निर्णय लिएर आयो भने पनि त्यसलाई मैले सहज रुपमा स्वीकार गर्नेछु । तर उमेर हदबन्दी लाग्दै गर्दा ०६२÷६३ को जनआन्दोलनमा रगत, पसिना, परिश्रम बगाएका साथीहरु धेरै छन् । ती साथीहरुको व्यवस्थापनको विषयमा पार्टीले हेर्ने कि नहेर्ने भन्ने प्रश्न पार्टीलाई गर्न चाहन्छु । त्यस्ता साथीहरुलाई व्यवस्थापन गर्नका निम्ति तरुण दल छ । तरुण दल विगत दुई बर्षदेखि चार जना नेताहरुले तरुण दल चलाएको अवस्था छ । पार्टीमा ४२ वटा विभाग छन्, प्रत्येक विभागमा २१ जनाको दरले विभाग समितिहरु बनाउन सकिन्छ । ती समितिहरुमा आठ नौ सय विद्यार्थी साथीहरुलाई परिचालित गर्न सकिन्छ । यस्ता समितिहरुलाई खालि राख्ने र उमेर हदबन्दी लगाएर ०६२÷६३ को जनआन्दोलनमा रगत बगाएका साथीहरुलाई किनारा लगाउने कुराले राम्रो परिणाम दिँदैन । त्यस्ता साथीहरुको विषयमा पनि पार्टीले सोचिदिनु पर्यो र अहिले उमेर हदबन्दीको विषय हटाउनुपर्छ भनेर धेरै कुराहरु पनि आइरहेको छ । यदि उमेर हदबन्दी हटाएर पार्टीले त्यस्ता साथीहरुलाई व्यवस्थापन गर्नका निम्ति नेविसंघमा उमेर हदबन्दी हटाउँछ भने म त्यसलाई स्वीकार्छु । उमेर हदबन्दी लगाए या नलगाए पनि मलाई फरक पर्दैन । हाम्रो उद्देश्य भनेको नेविसंघको महाधिवेशन गराउनु नै हो ।

नेविसंघलाई सुधार्न र विद्यार्थीकै संगठन बनाउनका लागि के गर्नुपर्ला ?
समग्रमा नेविसंघलाई सुधार्न सांगठनिक संरचना सुधार्नुपर्ने जरुरी हुन्छ । हाम्रो नेविसंघ संगठित, प्रशिक्षित अभियान अन्तर्गत तीन वटा मुद्धा लिएर अगाडि बढेका थियौं । पहिलो मुद्धा समयमा अधिवेशन र समयमै नेतृत्व हस्तान्तरण भन्ने हाम्रो पहिलो मुद्धा हो । दोश्रो भनेको नेतृत्व भनेको टिका लगाएर भन्दा विद्यार्थीहरुले छनोट गरेकै निर्वाचित विद्यार्थी नेता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अर्को भनेको एक व्यक्ति एक पद एक कार्यकाल भन्ने हामीले तीन वटा मुद्धा बनाएर अगाडि बढेका थियौं । अहिले पनि ती तीन मुद्धालाई अगाडि लिएर आइरहेका छौं । यदि हामी त्यो मुद्धामा जाने हो भने सत्र अठार बर्षमा क्याम्पसको इकाइबाट राजनीति प्रारम्भ गरेको युवाले अठ्ठाइस देखि तीस अथवा बत्तीस बर्षभित्र नेविसंघको केन्द्रिय अध्यक्ष बन्न सक्छ । सबै भन्दा ठूलो कुरो पद्धति हो । यदि हामीले पद्धति बसाल्यौं भने एक व्यक्ति एक पद एक कार्यकालको लागि जस्ता कुराहरु अगाडि लिएर आएर हाम्रा सांगठनिक संरचनाहरुलाई अगाडि बढाउने हो भने विद्यार्थीको नेता विद्यार्थी नै हुन सक्छ भन्ने मलाई लाग्छ ।

चुनावी गतिविधि र रौनकता खासै देखिँदैन नि किन ?
नेविसंघको बैठकबाट संघीय संरचना अनुसार विधान बनाएर पार्टीमा स्वीकृतिको लागि पार्टीमा पठाइसकेका छौ । पार्टीबाट स्वीकृति भएर विधान नआउन्जेल नियमावली बनाएर जिल्ला जिल्लामा पठाउन हामीलाई अप्ठेरो परेको छ । अधिवेशनका गतिविधिहरुमा सोही कारणले केही सुस्तता देखिएको छ । विधान नियमावली बनाएर जिल्लामा पठाइसकेपछि चुनावी रौनकता र माहोल बन्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here