ओली र प्रचण्डको जोडीले लोकतन्त्रलाई सबल बनाउलान् त : प्रदिप गिरि

0
333

संविधान सभाले २०७२ सालमा संविधान बनाएर जारी गरेपछि मुलुकमा प्रथम आम चुनाव सम्पन्न भयो । नयाँ संविधान जारी भएपछि त्यसले अनेकौँ पुराना कानुनमाथि प्रश्नचिन्ह उठाउँछ । फलस्वरुप संसदको यसपटकको सत्र तिनै संविधानसँग बाझिने अनेकौँ कानुन संशोधन गरी बदल्ने कार्यमा व्यथित भयो । कानुन बन्ने बनाउने क्रममा कतिपय कमिकमजोरीहरु देखिए । त्यस्ता कमजोरीका तर्फ पनि यसपटक हामी नजाउँ । समग्रमा प्रतिपक्षले जुन भूमिका निर्वाह गर्नु पर्ने थियो त्यो भूमिका निर्वाह गर्न सकेन भनेर संसदभित्र र बाहिर टिका टिप्पणी भएको पनि सुनियो ।

यसरी गणतान्त्रिक नेपालको लोकतान्त्रिक संविधानका अन्तर्गत संसदको तेस्रो सत्र भने सम्पन्न भइसकेको छ । यो सत्र सम्पन्न भइसक्दा पनि के अब नेपालमा स्वस्थ लोकतन्त्र निर्वाह हुन सक्छ त भन्ने विषयमा भने शंका कायमै छ । वर्तमान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जोडीले लोकतन्त्रलाई सबल बनाउलान् भनेर चारैतिरबाट प्रश्न पनि उठिरहेको छन् । यस किसिमको प्रश्न निराधार पनि छैन । संविधानको पालनाका लागि प्रधानमन्त्री ओली र उहाँका वरिष्ठ सहयोगी अध्यक्ष प्रचण्ड यथेष्ट रुपमा जागरुक देखिनु हुन्न । यो सँगै प्रतिबद्ध पनि देखिनु हुन्न । जागरुकता र प्रतिबद्धताको यस्तो अभावले गर्दा उहाँहरुका निमित्त पनि नित्य रुपमा नचिताएका समस्या उत्पन्न भइरहेका छन् ।

एउटा कुरा हामीले यहाँ सम्झना राख्नु पर्दछ, कि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड दुबै लोकतान्त्रिक परम्पराबाट अगाडि आउनु भएको राजनेता होइन । आफ्नो जीवनका सर्वश्रेष्ठ वर्षहरु उहाँहरुले सर्वहारा वर्गको अधिनायकत्वका माध्यमबाट मात्र सच्चा जनवाद स्थापित हुन सक्दछ भन्नेमा बिताउनु भयो । प्रधानमन्त्री ओलीका हकमा जनवादप्रतिको उहाँको मोह केहि पहिल्यै नै टुटेको हो । जब मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रस्तावना अगाडि सारे त्यस दिनदेखि नै सुस्तरी र सिथिल रुपमै भएपनि नेकपा एमाले संसदीय व्यवस्थाप्रति क्रमशः आकृष्ट हुँदै गयो । प्रचण्ड अथवा माओवादी पार्टीका हकमा त पुरानो जनवादी मान्यतालाई अतिक्रमण गरेर लोकतान्त्रिक व्यवस्थामा आउनका निमित्त समेत आवश्यक अन्तराल र अवसर प्राप्त भएन ।

संसदमा जनताबाट निर्वा्चित भएर आएका गम्भिर र इमान्दार कमरेडहरु पनि हुनु हुन्छ । उहाँहरु आफैँमा रनभूल्ल हुनु भएको छ। ‘हामी कहाँ आइयो हँ’ भन्ने ध्वनि उहाँहरुबाट बारम्बार सुनिन्छ । ‘यस व्यवस्थाका लागि त हामी आएका होइनौँ त’ भनेर थुप्रै सांसदहरुले दिनहुँ जसो म जस्ता पृथक विचारधारा राख्नेसँग पनि भन्ने गरेका छन् । जो सरकारमा छन् त्यी आफैँमा मस्त छन्। सरकारमा नभएपनि जसका अगाडि पछाडि गाडी, घोडा छन् तिनलाई पनि सोच्ने फुर्सदै छैन। सत्ताको नशामा लागे जस्ता छन् । तर, सरकारबाट बाहिर रहेका र माओवादीबाट आएका सबै सांसदहरु यो के भएको होला भनि टिका टिप्पणी गर्न सक्दैनन् । यस्तै टिका टिप्पणी गर्नेहरुका समूहबाट नै विप्लव, प्रकाण्ड र हेमन्तप्रकाश वलि छुट्टिएर बाहिर गएका होइनन् र? भन्ने मानिसहरुको प्रश्न र समिक्षा छ । लोकतन्त्र एउटा बडो अप्ठ्यारो र कठिन व्यवस्था हो । यो एउटा साधनाको व्यवस्था हो । प्रत्येक मानिसभित्र अहंकार हुन्छ । कोही पनि मानिस यतिसम्म कि आफ्नो सहोदर छोरालाई समेत अधिकार दिन चाँहदैन ।

श्रीमतीसँग पनि सत्ताको बाँडफाँट गर्न चाँहदैन । यही अहंकारले गर्दा मानिस एकाधिकारवादी हुन चाहन्छ र यो मानिसको स्वभाव हो । अर्को शब्दमा भन्ने हो भने स्वभावले नै मानिस लोकतान्त्रिक छैन। राजनीतिक विज्ञानमा एकथरी मानिस जहिले पनि मानिसलाई साँचो बाटोमा ल्याउन गाह्रो छ, सहि बाटोमा हिँडाउन कठिन छ र लोकतान्त्रिक बाटोमा ल्याउन गाह्रो छ, त्यसैले राज्यले उनीहरुको विरुद्धमा बदमासलाई दबाउनै पर्छ भन्ने सिद्धान्त राखेका हुन्छन् । तर, लोकतान्त्रिक व्यवस्थाले भने दमनमा विश्वास राख्दैन । लोकतन्त्रमा सर्वप्रथम आफू अनुशासित हुनु पर्दछ । आफूले आफ्ना उपर शासन गन सक्नु पर्दछ र आफूभित्र रहेका कुरिती, विकृतीमाथि समेत अन्तरसंघर्ष गर्दै जानु पर्दछ भन्ने सिकाएको छ । यसको सहज उदाहरण वेलायती परम्परामा एक होइन अनेक देखिएका छन् ।

अमेरिकामा अब्राहम लिंकन, जर्र्ज वासिङ्टन जस्ता मानिसहरु उदाहरण थिए, भारतमा महात्मा गान्धी र जवाहलाल नेहरुको उदाहरण पेश गरेका छन् । नेपालमा बी.पी. कोइरालाले जनमत संग्रहको हारलाई स्वीकार गर्नु भयो । उहाँले यस किसिमको हारलाई स्वीकार गरेकोमा कांग्रेस पंक्तिबाट पनि आलोचना भयो । लोकतन्त्र यस्तो व्यवस्था हो जहाँ हारलाई सहर्ष स्वीकार गरिन्छ । तर, हारकाप्रति हिजोमात्र पनि प्रचण्डको के दृष्टिकोण थियो त्यो हामीले देखिसक्यौँ । चुनाव बहिष्कारको घोषणा गर्दै हिँडेर पुनः हतियार उठाउँछौँ भन्ने कुरा गरेका थिए । लोकतन्त्रको अर्को समस्या छ, लोकतन्त्रमा जनता र कार्यकर्तालाई भ्रममा राख्नु हुँदैन । जनता र कार्यकर्ताको सम्मान र सम्वाद नै लोकतन्त्रको मर्म हो । प्रचण्डले बहुदलीय व्यवस्थामा आएँ भनेर १२ बुँदे सम्झौता गरिसक्दा पनि शक्तिखोरमा उनले गरेको भाषण आज पनि दाहोर्याएर हेर्न र सुन्न सकिन्छ । विप्लव र प्रकाण्ड प्रवृत्ति वास्तवमा आफ्ना नेता अध्यक्ष प्रचण्डको दोहोरो बोली र हारलाई सहर्ष स्वीकार गर्न नसक्ने असहिष्णु र अलोकतान्त्रिक प्रवृत्तिको द्योतक हो।

उनीहरुलाई आज पनि लाग्दछ कि संसदीय व्यवस्था वा चुनावी व्यवस्थाबाट परिवर्तन ल्याउन सकिँदैन । तद्अनुरुप उनीहरुले आफूले ल्याएका र राखेका हतियार बोक्न उद्धत भएका छन् । अहिले सरकारले कडा र कठोर दमनयन्त्र चलाएको छ । त्यस दमनयन्त्रका अन्तरगत अनेकन प्रमुख नेताहरु समातिइसके। सिंगो नेतृत्वपंक्ति पनि समातिन सक्छ । यहि रवैया हो भने प्रहरी र सेनाले बादलको नेतृत्वमा त्यी सबैलाई उन्मूलन नै गर्न पनि सक्छ। तर, व्यक्तिको उन्मूलन गर्न सजिलो छ विचारको उन्मूलन गर्न गाह्रो छ । नेपालको कम्युनिष्ट कित्तामा अहिले आवश्यक सांस्कृतिक रुपान्तरण भएको छैन ।

अहिले पनि कम्युनिष्ट नेताहरुलाई लागिरहेको छ कि माओले लिएको बाटो नै ठिक हो, स्टालिनले गरेको बाटो नै ठिक हो। यो चुनावको माध्यमबाट हामी जाने तरिका ठिक होइन र चुनावका माध्यमबाट हामी गइसकेपछि र सरकारमा पुगिसकेपछि पनि अब सरकारमा हामी पुगियो पुगियो, जनताले अनुमोदन गरे गरे यो कानुनको शासन भनेको के हो ?

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले दिएका प्रत्येक अभिव्यक्तिमा कानुन र संविधानभन्दा माथि म हुँ भन्ने भावना देखिन्छ । यो भावना उहाँहरुको अहंकारले मात्र पलाएको होइन । जुन राजनीतिक विचारधाराबाट उहाँहरु दिक्षित र प्रशिक्षित हुनुहुन्छ त्यो विचारधाराले यहि नै भन्छ, त्यसले अरु भन्दैन । अब चुनाव जितेर सत्तामा पुग्दाखेरिको मनस्थिति र अभिव्यक्ति पृथक हुन्छ, चुनाव नजिती निराश भएर भूमिगत बस्दाको गतिविधि फरक हुन्छ । होइन भने प्रचण्ड र विप्लवको गतिविधिमा धेरै फरक देखिदैन । यो भन्नुको अर्थ प्रचण्ड, विप्लव, प्रकाण्ड अथवा ओलीलाई एउटै काँटामा राख्न खोजेको भने होइन ।

उनीहरुकाप्रति अविश्वास श्रृजना गरेको पनि होइन। मात्र के भन्न खोजिएको हो भने अधिनायकवादी विचारधारा जुन हामीहरुको मनोलक्षित व्यक्तित्वमा छ त्यसलाई समाप्त गर्नका लागि केहि आवश्यक सांस्कृतिक र वौद्धिक काम गर्न आवश्यक हुन्छ । लोकतन्त्र खराब व्यवस्था छ । एक पटक बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिएः डेमाक्रेसी सरकारको सबैभन्दा खराब रुप हो । तर, समस्या के छ भने बाँकी अन्य व्यवस्था यो भन्दापनि खराब छन्। हामीले लेनिनको शासन सोभियत युनियनमा हेरिसक्यौँ । चीनमा अहिले देख्दै छौँ । कुनै पनि हालतमा कुनै पार्टीमा सभापति दुई कार्यकाल भन्दा बढि बस्दैनन् । तर, त्यसलाई त्यहाँ बदलिइसकियो। यसको दुश्परिणाम आजको पाँचवर्ष पछि नै थाहा होला । प्रजातन्त्ररलोकतन्त्र भनेको राजीखुशी हार्ने र हारेपछि विपक्षमा गएर सम्मानपूर्वक बस्ने व्यवस्था हो। यसमा काम ढिलो होला अथवा काममा समय लाग्ला। स्वयं अध्यक्ष प्रचण्डले संसदमा बोल्नु भयो, यहाँ काम ढिलो हुँदो रहेछ, आफूले चाहे जस्तोगरी ड्याम ड्याम गर्न पाइँदो रहेनछ ।

प्रचण्डको जुन ड्याम ड्याम गर्ने इच्छा हो त्यो इच्छाको प्रयोग भइसकेन र ? प्रचण्डका आफ्ना इच्छाहरु के छन् त्यो थाहा छैन तर, विश्वका सम्पूर्ण कम्युनिष्ट व्यवस्थाहरु किन ड्याम ड्याम गर्दागर्दै असफल भएका छन् ? असफल मात्र भएका छैनन् कतिपय देशहरु छिन्नभिन्न भएका छन्, कतिपय देशमा अहिले भोकमरी छ, भ्रष्टाचार र अन्य अनैतिक गतिविधिहरुबाट आक्रान्त भएका छन् । कम्युनिष्ट व्यवस्थाले गम्भिर गल्ती गरेको छ, विरोधको महत्व बुझेका छैन । लेख्ने, बोल्ने स्वतन्त्रताको महत्व बुझेको छैन । कुनै पनि स्वस्थ राजनीतिका निमित्त बुनियादी (पूर्वसर्त) सर्त केहि मौलिक अधिकारहरु हुन् । मानिसले आफ्ना कुराहरु भन्न पाउनै पर्छ । आफू एकजनाले मात्रै बताएर हुन्न, उसले आफ्ना कुरालाई सभा गरेर भन्न पाउनु पर्छ । सभा गरेर मात्र पनि हुँदैन आफूले सभामा बोलेका कुरालाई कार्यान्वयन गर्न संगठन बनाउन पनि पाउनु पर्छ । संगठन बनाइसकेपछि चार वा पाँच वर्षको निश्चित समयमा त्यस संगठनको विचार र शक्तिको परिक्षण गर्न पनि पाउँनु पर्छ । यी चारवटा आधारभूत विषयहरुः लेख्ने, बोल्ने स्वतन्त्रता, सभा गर्ने स्वतन्त्रता, संगठन गर्ने स्वतन्त्रता र त्यस संगठनको शक्तिको परिक्षण गर्ने स्वतन्त्रता लोकतन्त्रका बुनियादी सर्त हुन् ।

यी चार स्वतन्त्रताले मात्र नपुग्ला। यी चार स्वतन्त्रता भएको समाजमा पनि नेतृत्व भ्रष्ट भयो, अदुरदर्शी भयो, उसँग स्पष्ट कार्यक्रम भएन भने, नेतृत्वले जनतालाई सम्मान गर्न सकने भने देश ओरालो लाग्दछ। देशमा अस्थिरता आउँछ । दुई तिहाई बहुमत हुँदैमा देशमा स्थीरता आउँदैन । वर्तमान नेतृत्वको गतिविधि, क्रियाकलाप, बोलिबचन हेर्दा दुई तिहाईका कारणले नै यिनीहरुले देशमा अस्थिरता ल्याउलान जस्तो छ। यिनीहरुको अहंवादीता हदभन्दा बढि बढेको छ । यस अहंवादको विरोधमा उत्रिनु पर्ने प्रतिपक्ष उ पनि अलिकति संशयग्रस्थ छ । लगभग महाभारतको लडाइको पूर्वंसन्ध्यामा अर्जुनलाई युद्ध लडुँ कि नलडुँ भए जस्तै कांग्रेसलाई पनि भएजस्तो छ। यस्तो अवस्थामा कांग्रेसलाई एउटा जबरजस्त आवाजको खाँचो छ । निर्भय, निर्लोभी भएर कृष्णले उभिएर भनेका थिए ः

क्लैब्यं मा स्म गमस् पार्थ नैतत्तवय्युपपद्यते ्र
क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप ्र्र घ्र्र
हे पार्थ, हृदयको एउटा कुनामा सानो डर पनि नराख, उच्च मनोबल र उत्साहकासाथ दुश्मनको विनाशका लागि युद्धमा खडा होउ । त्यसैगरी आज नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक दायित्व बुझेन र डर देखायो भने वर्तमान संविधान धरापमा पर्छ। वर्तमान संविधानको पक्षमा उभिएका जो समर्थकहरु छन् । उनीहरु स्वयंको आफ्नै हृदयमा प्रजातन्त्रकाप्रति शंका उत्पन्न भएको देखिन्छ। कि यसैका लागि हामी लडेका हौँ त, यसैले देशको भलो गर्छ त ? भन्ने ठूलो पंक्तिबाट आज नेकपा माओवादी र एकहदसम्म एमाले ग्रस्थ छ। यो राम्रा लक्षण होइन । यस अशुभ लक्षणले गर्दा आजका दिन नेपाली कांग्रेसको दायित्व दशौं गुणा बढेर गएको छ ।

साभार : हिमाल दैनिक डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here