कांग्रेस दुब्लाएको हो सकिएको होइन पात झरेका हुन् रुख सुकेको होइन ः तारक केसी

0
622

दोस्रो संविधानसभा निर्वाचन पश्चात रुकुम बाट फर्केपछि आफ्नै जिल्ला निवासी एक जना मित्र सँग सुनधारामा भेट भयो शिष्टाचार अभिवादन साटासाट पश्चात् उनले ठट्यौली पारामा मनको बह खोले,“ बाँचियो यार“ भित्रभित्रै गम्भीर भएर म पनि बनावटी हाँसो हाँसिदिएँ,“ हो,मित्र बाँचियो..!“

सुन्दा सामान्य लाग्ने उक्त मार्मिक संवादले लक्ष्य गरेको तितो यथार्थले निक्कै दिनसम्म घोचिरह्यो । पोलिरह्यो । सायद मेरो भारी मन जे कुरा चाहेर पनि भन्न सकिरहेको थिएन त्यही कुरा मेरा मित्रले मौलिक भाकामा मलाई भनेका थिए । मेरो मनोदशा पुनरावृत्त गरेका थिए । म त्यही गाउँबाट फर्किएको थिएँ जसलाई सशस्त्र युद्धको दौडान माओवादीले आफ्नो आधारइलाका घोषणा गर्दै देशभरी नै पहिलो जनसरकार घोषणा गरेका थिए र जबर्जस्त हँसिया हथौड़ा अंकित लाल झण्डा गाडेका थिए ।

जबर्जस्त किनभने मुलतः मानव र मानवीय समाजको विशेषता भनेकै मौलिकता र आफ्नोपन हुने भएकोले सबै ब्यक्ति एउटै विचारधारामा अटाउन सक्दैनन् । संख्या तलमाथि हुनसक्छ । र,कुनै पनि भूगोल खास सिद्धान्त र दर्शनको लाल,श्वेत वा अश्वेत किल्ला हुन सक्दैन भन्ने मेरो ठहर हो । संसदीय पद्धति भित्र रहेर बहुलतामा आधारित प्रतिस्पर्धात्मक लोकतन्त्रको नारा लगाउने “कांग्रेसीहरु खोजी खोजी“ को नारा दिएर बर्ग संघर्षको नाममा ब्यक्ति हत्याको राजनीति सुरु गरेका माओवादी मित्रहरूले घोषणा गरेको उक्त आधारइलाका हाम्रो जन्मभुमि नै भएता पनि चुनाव बेला माओवादी साथीहरू बाट भए गरेका हिंसात्मक गतिविधि हेर्दा कताकता आफैं जन्मेको भूगोल पनि कदाचित् अपरिचित र बिरानो लागिरह्यो ।

त्यही ताड्कासुरको आसुरी बृत्ती सँग पराजित भएपछि स्वर्गका राजा देवराज इन्द्रलाई आफ्नै सिंहासन अपरिचित र बिरानो लागेजस्तो । जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा मातृ पार्टी र पार्टिका उम्मेदवारहरु फराकिलो मतान्तरले पराजित भएपछि हारेका सिपाहीको पराजित मनोविज्ञान बोकेर काठमाडौ फर्किएको थिए । जन्मेदेखी माओवादीको व्यबहार देखे भोगेको मेरो लागि पहिलो संविधानसभा निर्वाचन हुँदै दोस्रो संविधानसभा निर्वाचनमा उनीहरूले देखाएको व्यबहार त्यति नौलो त थिएन तर पनि एउटा संसदीय लोकतान्त्रिक प्रक्रियामा छिरिसकेपछी संसदीय लोकतन्त्र भित्रको निर्वाचन प्रक्रिया लाई सोही रूपमा स्विकार्न नसक्नु म लगायत सम्पुर्ण लोकतन्त्रवादीको लागि उदेकलाग्दो बिषय हो ।

चिन्ताको बिषय हो।उक्त निर्वाचनका दौडान कांग्रेसको झण्डा र चुनाव चिन्ह बोकेर प्रचार प्रसारमा गएको आफनै भाइ माओवादीको खुकुरीको निशाना बन्न पुग्यो । कैयन ठाउँमा हाम्रा उम्मेदवारले सम्बोधन गर्ने पार्टिका आमसभा वाइसीएलका जत्थाहरुबाट घेरिए । कुटपिट,घुर्किधम्की का घटनाहरु घटिरहे । म यी हिजोको घटनाहरु चासोपुर्वक किन उठाइरहेछु भने रुकुममा कांग्रेसको “दशा“ र माओवादीको “दिशा फेरिएको छैन ।

माओवादी शान्ती प्रक्रियामा आइसकेपछाडी जिल्लालाई सिञ्चित गर्दै सानोभेरीमा निक्कै पानी बग्यो होला तर माओवादी व्यबहार फेरिएको छैन । युद्धकालिन धङधङी बाट माओवादी ढंग पुर्वक बहुदलीय प्रतिस्पर्धा र आवधिक निर्वाचन जस्ता संसदीय लोकतन्त्रको मैदानमा अवतरित हुन सकेको छैन । यहाँनेर स्मरणीय छ कम्युनिस्ट पार्टी एकता पछि भने हामीले उनीहरूका गतिविधिमा केही खुकुलोपन अनुभव गर्यौँ ।

सायद अब हाम्रो जित पक्का भन्ने मनोविज्ञानले काम गरेको हुनुपर्छ । यो पक्ष आफैंमा थप संशयपुर्ण र पिडादायी छ, किनकि चुनाव जित्ने ढुक्क भए मात्र माओवादीले हामीलाई केही सहज सास फेर्न दिनेछन्,अन्यथा हाम्रो विचार र दर्शन माथि उनीहरूको कुनै स्विकारोक्ती हुनेछैन।हाम्रा एजेन्डा जनताको विचमा लिएर शान्तिपुर्ण तरिकाले हामी प्रचार प्रसार र आफ्ना राजनीतिक गतिविधि गर्न पाउनेछैनौँ । स्वाभाविक प्रश्न उठ्छ(रुकुम तिर एमालेको माओवादी माथी विलय र माओवादी आवरणमा स्टालिनवादी चरित्रको निगाहमा मात्र कांग्रेस बाँच्ने हो ? उनीहरूको जितको कलेवरमा हामी सधैं पराजित फड्के किनाराको साक्षी बस्नुपर्ने हो ?

वास्तवमै जब यी कुराहरू सचेत मानसिकतामा घुम्छन् तब मलाई लोकतन्त्र,विधिको शासन,आवधिक निर्वाचन,बालिग मताधिकार,पार्टी,दर्शन र कार्यक्रम रोज्न पाउने जनताको स्वेच्छिक अधिकारको लागि कंग्रेसले लडेका प्रत्येक न्यायपुर्ण राजनीतिक लडाइँ र आन्दोलन निरर्थक लाग्दछन् । एकजना लोकतान्त्रिक सिपाही र उसले प्रतिनिधित्व गर्ने उसको राजनीतिक समुहको लागि यो भन्दा ठुलो बिडम्बना सायद अरु ठुलो नहोला ! हामी संगठनको आन्तरिक जीवनमा चारपाँच बर्षमा एकचोटि आउने महान पर्व महाधिवेशनको सम्मुखमा छौँ।विधिवत रूपमा स्कुल,क्याम्पस,स्थानीय तह,क्षेत्र र जिल्लाका अधिवेशन भैरहेका छन् ।

यस्तोमा रुकुम त माओवादीको किल्ला होइन ? त्यहाँ पनि कांग्रेस छ र जस्ता भ्रामक बिचार पाल्नुभएका पार्टी र संगठनका आदरणीय साथीहरू लाई म महाधिवेशनको पुर्वसन्ध्यामा पार्टिका प्रवक्ता, विश्वप्रकाश शर्माको शब्द सापटी लिएर विनम्र निवेदन गर्न चाहन्छु (“रुकुम तिर कांग्रेस दुब्लाएको हो । सकिएको होइन।रुखका पात झरेका हुन् रुख सुकेको होइन ।“

रुखमा नयाँ पालुवा सहितको समग्र लोकतन्त्रवादीहरुको लागि बसन्तको नयाँ उभार ल्याउन हामी सदैव तत्पर छौँ । कांग्रेस प्रती आस्था राखेकै कारण ८० र ८२ जना हाम्रा होनहार नेताकार्यकर्ता र अभिभावक सहिद बनेका छन् । एउटा जिल्लाले लोकतान्त्रिक विचारधारा जोगाउन दिएको यो भन्दा ठुलो बलिदान र कुर्वान अरु के हुनसक्छ ? रुकुम तिर कंग्रेस अझै जिउँदो जाग्दो भएको प्रमाण अरु के हुन सक्छ ? हाम्रा अभिभावकहरु माटोमुनी गाडिएर के भयो त हरक्षण हामी विशाल वटवृक्ष बनेर उम्रीन तयार छौँ भने ! त्यसैले संघीय संसद सदस्य निर्वाचनमा प्राप्त करिब अठार हजार मतलाई जोगाउन ,त्यसलाई थप फैलाउन र वाम गठवन्धन सँगको मतान्तर घटाएर स्पस्ट जित निकाल्नको लागि हामीलाई संगठन भित्र नेतृत्वदायी भुमिका चाहिएको छ ।

काठमाडौ केन्द्रित नेतृत्वको नजरले रुकुमको कांग्रेस र नेविसंघको समस्या देख्न सक्दैन । देखे पनि सहि निदान गर्न सक्दैन । निरन्तरको पराजयको पीडा,त्यसले शुभचिन्तकमा ल्याएको निराशा लाई चिर्न हामीलाई निर्णायक नेतृत्व चाहिएको छ । जसले जुन समस्या भोगेको छ उसको लागि त्यही नै प्रधान समस्या हुने हो । मेरो अनुभवमा रुकुमेली भुमिमा लोकतन्त्रको प्रत्याभूत हाम्रो पहिलो एजेन्डा बन्नै पर्छ । नेविसंघ भित्र रहेर काम गर्दै गर्दा तमाम शैक्षिक आन्दोलनका कुराहरु त हामीले गर्नु नै छ । शिक्षामा आमूल परिवर्तन ल्याउन निर्णायक कदमहरु त चाल्नु नै छ।तर,हामीलाई यत्तिले मात्र पुग्ने अवस्था छैन ।

हामी जस्ता सचेत युवा विद्यार्थीहरु पार्टी र संगठनको दर्शन र विचारधारा लिएर गाउँ गाउँ पुग्नुछ।जागरुक कांग्रेस लाई जुरुक्क उचाल्नु छ । कोमामा पुगेको कांग्रेसलाई प्राण र त्राण दिनुछ । त्यसैले बस्तुसंगत संगठन निर्माण,सचेत दर्शनको अंगिकार र लोकतान्त्रिक वातावरणको पुर्ण प्रत्याभुतिको लागि देशैभरका तमाम विद्यार्थी साथीहरू लाई म विशेष अनुरोध गर्न चाहन्छु। कुनै जमानामा विद्वानहरुले सुरु गरेको “यथातथ्यको बोध“ जस्ता शिक्षाको प्रारम्भिक कुराहरू तिर हामी फर्किनुपरेको छ।एकपटक संगठनको चिरफार गर्न आवश्यक छ।भावुकताको प्रवाह र काल्पनिकताले मात्र हामी दुई तिहाइको शक्तिशाली कम्युनिस्ट गठबन्धन सँग राजनीतिक हिस्सेदार बन्न सक्ने छैनौँ ।

यसको लागि गहन अन्तर्दृष्टि सहितको सुझबुझपुर्ण राजनीतिक व्यबहार अंगाल्न र सोही बमोजिमको नेतृत्व छान्न आवश्यक छ । हामीले बुझ्न आवश्यक छ(रुकुम को ग्रामीण बस्तीमा लोकतान्त्रिक झण्डा गाड्ने एउटा नेविसंघको सिपाही लाई नेतृत्वदायी स्थानमा ल्याउनु समग्र संगठनको हित र आफ्नै बाटो र माटोमा पनि बिरानो व्यबहार सहन बाध्य तमाम लोकतान्त्रिक योद्धाहरुको लागि निर्विकल्प न्याय हो । कम्तीमा हरेक भाषण,दस्तावेज र निर्णयमा “न्यायप्रेमी जनसमुदाय“ बोलेररलेखेर जबर्जस्त रूपमा कंग्रेस र नेविसंघ लाई अन्याय गर्दै आएका बलजफतकारी हरुलाई सिधा र स्पष्ट जवाफ हो ।

लेखक केसी नेपाल बिद्यार्र्थी संघका केन्द्रिय सदस्य हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here