लघुवित्त परियोजनालाई सिएफपिएद्वारा आर्थिक सहयोग

0
146

काठमाडौँ, असोज ७ । नवलपुर जिल्लाको देवचुली नगरपालिकास्थित लघुवित्त कार्यक्रमका लागि नेपालस्थित चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशन (सिएफपिए) ले आर्थिक सहयोग गरेको छ ।

उक्त संस्थाले स्थानीय सक्रिय साना किसान कृषि सहकारीमार्फत लघुवित्त कार्यक्रमका लागि रु ३७ लाख प्रदान गरेको जानकारी गराएको छ । सफा, सुनौलो नेपाल र सक्रिय साना किसान कृषि सहकारी संस्थासँगको सहकार्यमा महिला उद्यमशिलता सहयोग परियोजनाका लागि सो संस्थाको सहयोगमा कार्यक्रम प्रारम्भ भएको हो ।

नेपालमा काम गर्ने पहिलो चिनियाँ गैरसरकारी संस्था सिएफपिए हो । देवचुली नगरपालिका सिएफपिए नेपालको देशीय निर्देशक जाउ, सफा सुनौलो नेपाल संस्थाका सचिव राकेश हमाल र सहकारीका अध्यक्ष मीना सुवेदीबीच सम्झौतापत्रमा हस्ताक्षर भइ उक्त रकम प्रदान गरियो ।

गिभ टु एसिया नामक अन्तर्राष्ट्रिय दातृ संस्थाको आर्थिक सहयोगमा सञ्चालित उक्त नेपाली महिला उद्यमशिलता सहयोग कार्यक्रमबाट देवचुली नगरपालिकाका विपन्न दलित तथा जनजाति समुदायका करीब ४०० घरधुरीले प्रत्यक्ष लाभ लिन सक्ने संस्थाको भनाइ छ ।

कार्यक्रमबाट चिनियाँ लघुवित्त नमूना नेपालमा पहिलो प्रयोग हुनेछ भने स्थानीय महिलाको आर्थिक अवस्था सुधार गर्नका लागि कार्यक्रमले महत्वपूर्ण भुमिका निभाउने सीएफपीए नेपालका प्रमुख जाउको विश्वास छ ।

चीनको गरिबी निवारणमा २० वर्षदेखि सञ्चालित हुँदै आएको यस्तो खालको कार्यक्रमले चीनमा राम्रो सफलता हासिल गरेको छ । नेपालमा पनि यसको सफलताको अनुभव प्रयोग गरी कार्यक्रमको तर्जुमा, व्यवस्थापन र कार्यान्वयन गरिएको हो ।

यस कार्यक्रमबाट विपन्न र बैंकबाट कर्जा प्राप्त गर्न नसक्ने महिलाको उद्यमशिलता क्षमता विकास गरी आर्थिक अवस्थामा सुधार हुनेछ । कार्यक्रमले गरीब तथा विपन्न महिलालाई निजी साझेदारीमार्फत समाज विकासको लक्ष्य प्राप्त गर्नका लागि व्यवहारिक ज्ञान, सीप तथा प्रविधि पनि प्रदान गर्ने छ ।

व्यावसायिक तरकारीखेती, पशुपालन, माछापालनलाई प्राथमिकता दिने र यसमा आधारित व्यवसाय, मासु पसल, तरकारी पसल खोल्नका लागि सहयो गर्ने र भविष्यमा आर्थिक रुपले आत्मनिर्भर बन्नका लागि पनि मद्दत पुर्याउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here