समावेशी र दिगो विकासका लागि लैङ्गिक सहअस्तित्व अनिवार्य : उपराष्ट्रपति

0
289

काठमाडौँ, भदौ १८ । महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् । दक्षिण एशियाली महिला विकास मञ्चले आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाट्न गर्दै उपराष्ट्रपति पुनले समावेशी र दिगो विकासका लागि लैङ्गिक विविधतासहितको सहअस्तित्व अनिवार्य रहेकोमा जोड दिए ।

नेपालले संविधान र अन्य कानूनमार्फत महिलाको हक अधिकार सुनिश्चितताका लागि राज्यका हरेक निकायमा समानुपातिक समावेशिताको व्यवस्था लागू गरेको जानकारी गराउँदै उनले भने मुलुक समृद्धिका लागि महिलालाई आर्थिक र सामाजिक रुपमा सशक्तीकरण गर्नु आवश्यक छ । विश्वमा नै महिलामाथि हुने विभेद अन्त्य गर्ने घोषणा गरिए पनि महिलामाथि हुने विभेद कायमै रहेको बताउँदै उपराष्ट्रपति पुनले भने, कुरीति, कुसंस्कार र सामाजिक विकृतिका कारण महिलामाथि हुने हिंसा सिङ्गो मानव समाजका लागि चुनौतीको विषय हो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महिलाको आर्थिक सशक्तीकरणले परिवार मात्रै नभइ सिङ्गो समाज नै समृद्ध हुने जानकारी गराउँदै यसले अर्थतन्त्रलाई समावेशी र दिगो बनाउने धारणा राखे । सरकारले महिलालाई उद्यमी बनाउन विशेष ग्राहयता दिएको र नीतिगत प्रोत्साहन गरेको प्रष्ट पार्दै ज्ञवालीले नेपालको संविधान र कानूनले राज्यका प्रमुख पदमा महिलाको सहभागिता सुनिश्चित गरेको जानकारी गराए ।

दक्षिण एशियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालले महिलालाई सफल उद्यमी बनाउन महिलामैत्री नीतिको खाँचो रहेको प्रष्ट्याए । कार्यक्रममा भारतको महिला उद्यमी संघका अध्यक्ष रमादेवी र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र नेपालका महानिर्देशक डा डेविड मोल्डेनले महिलालाई उद्यमशील बनाउन तालीमका साथै आर्थिक र प्रविधिक क्षेत्रको सहज पहुँच हुनुपर्नेमा जोड दिए । तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा दक्षिण एशियाली साथै अन्य मुलुकका विज्ञ महिलाको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here